भण्टाबारी/ सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले चालू आर्थिक वर्षको पहिलो चारमहिनाको अवधिमा २१ करोड राजस्व असुली गरेको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत प्रमोद दासका अनुसार साउनदेखि कात्तिक महिनासम्ममा २१ करोड ३२ लाख ८० हजार ३ सय ४१ रुपैयाँ राजस्व सङ्कलन भएको हो । चालू आर्थिक वर्षको चार महिनामध्ये कात्तिकमा मात्र लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ भने साउन, भदौ र असोज महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन ।
सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले यो वर्ष ६३ करोड ५८ लाख ६६ उठाउने लक्ष्य राखेकोमा चारमहिनाको अवधिमा २१ करोड ३२ लाख ८० हजार ३ सय ४१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउन महिनामा ५ करोड १० लाख ३४ हजार लक्ष्य राखेकोमा ४ करोड ९६ लाख ९४ हजार ५ सय २ रुपैयाँ राजस्व सङ्कलन गर्यो ।
यसैगरी भदौ महिनामा ६ करोड ३७ लाख ७६ हजार लक्ष्य राखेकोमा ५ करोड १६ लाख २० हजार ३ सय ८८ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने असोज महिनामा ६ करोड ३७ लाख ७६ हजार लक्ष्य लिएकोमा ५ करोड ४६ लाख ५५ हजार ६९ रुपैयाँ राजस्व उठ्यो । त्यसैगरी कात्तिक महिनामा ४ करोड ९४ लाख ७० हजार राजस्व उठाउने लक्ष्य राखेकोमा ५ करोड ७३ लाख १० हजार ३ सय ८२ रुपैयाँ राजस्व सङ्कलन गरेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । आयात कम भएको र लक्ष्य धेरै राखेकोले पहिलो चारमहिनामा अपेक्षाअनुसार राजस्व असुली हुन नसकेको भन्सार अधिकृत दासको भनाइ छ । ‘भारतबाट आउने सामानमा पहिलाको तुलनामा कमी आएको छ’ उनले भने, ‘लक्ष्य पनि अपेक्षाभन्दा बढी राखियो ।’
चोरी–पैठारी नियन्त्रण आवश्यक
खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा चोरी–पैठारी हुने गरेकोले अपेक्षा गरिएअनुसार राजस्व असुली गर्न चुनौति देखिएको छ । भारतसँग खुला सीमा नाकाको कारण व्यापारीहरूले गैरकानूनी रूपमा भन्सार छल्ने गरेको हुँदा राजस्व असुली प्रभावित भएको बताउँदै भन्सार प्रमुख दासले प्रहरीले सीमामा थप निगरानी बढाउनु आवश्यक रहेकोे बताए । प्रहरीले सीमामा निगरानी बढाएको दाबी गरे पनि अपेक्षाअनुसार राजस्व असुली नहुनुले जिल्लाको विभिन्न नाकाबाट चोरी–पैठारी हुने गरेको पुष्टि हुन्छ ।
सुनसरीको नाका हुँदै भारतबाट नेपालतर्फ आलु, प्याज, हरियो तरकारी, चामल, मकै, फलफूल, कोइला, कपडा आदि लगातार आयात हुँदै आएको छ । जसमध्ये पछिल्लो समय भारतले प्याज निर्यात रोक्नु तथा अपेक्षाअनुसार आलु र कोइलाको आयात नहुनाले राजस्व असुलीमा कमी आएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले ३१ करोड ५५ लाख लक्ष्य राखेकोमा ४९ करोड ३७ लाख ६६ हजार ८ सय ५८ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालू आर्थिक वर्षमा सुनसरी भन्सार कार्यालयले ६३ करोड ५८ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । जसमध्ये साउनदेखि कात्तिक महिनासम्ममा २१ करोड ३२ लाख ८० हजार ३ सय ४१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।