बिर्तामोड / नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजित नगरपर्यटन महोत्सवको अवसर पारेर सूर्याेदय नगरपालिका–६ स्थित कन्याममा ‘होटल ग्रीन कार्पेट’ सञ्चालनमा आएको छ ।
युवा व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा पर्यटकस्तरीय होटल तथा लज सञ्चालनमा ल्याएका हुन् । होटलको प्रदेशसभा सदस्य काजीमान कागतेले शुक्रबार आयोजित एक समारोहका बीच उद्घाटन गरेका छन् ।
होटल उद्घाटन गर्दै कागतेले कन्याममा ५० लाखदेखि १२ करोडसम्मको लगानीमा होटल सञ्चालन रहेको जानकारी दिए । ‘इलाममा आउने पर्यटकले धेरै कुरा सिक्ने र केही ज्ञान लिएर जाने गर्छन्’ कागतेले भने, ‘इलामको कन्याममा पर्यटनको धेरै सम्भावना छ ।’ भारतको दार्जिलिङ, खर्साङ, सिलिगुडी र झापालाई लक्षित गरी कन्याममा रात्री पर्यटन शुरु गर्नुपर्नेमा उनले जोड दिए ।
होटलमा ५० र लजमा २६ जना अटाउने क्षमता रहेको सञ्चालक गिरीले बताए । होटलमा लोकल कुखुराको मासु, अग्र्यानिक सागसब्जी, सुकुटी, सेकुवा र क्याम फायरको व्यवस्थासमेत गरिएको जानकारी उनले दिए ।
शान्त वातारणमा सञ्चालनमा आएको होटलदेखि माथिको लभडाँडाबाट सूर्योदयको दृश्यावलोकनका साथै नेपालको सन्दकपुर, कञ्चनजङ्घा हिमाल, जौबारी, मेग्मागुम्बा, नयाँबजार, पशुपतिनगर, सिद्धिथुम्का, आइतबारेलगायत भारतको खर्साङ, सुनदह, टाइगरहिल, गुमपहाड, सिलिगुडीलगायत स्थानको दृश्यावलोकन गर्न सकिने कन्याम भिलेज कटेज सञ्चालक टेकराज गिरीले बताए ।