रङ्गेली/ फौजी किराले मकै बाली नष्ट गरे पछि यस वर्ष प्रदेश १ सरकारले बेलैमा सजगता अपनाउने गरी टास्क फोर्स गठन गरेको छ ।

फौजी किरा नियन्त्रणको लागि प्रदेश सरकारले ‘इमिडियट रेस्पोन्स टास्क फोर्स’ गठन गरेको हो । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय, कृिष निर्देशनालाय, बाली संरक्षण प्रयोगसाला, ज्ञान केन्द्र विभिन्न संस्था र कृषि औषधि विक्रेता सम्मिलित समिति गठन गरिएको छ । मकै बालीमा आउन सक्ने फौजी किरा नियन्त्रणको लागि ‘टास्क फोर्स’ गठन गरिएको बाली संरक्षण प्रयोगसालाका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । समितिले गर्ने कामको योजना तयार गरेर मन्त्रालयमा स्विकृतिको लागि पठाइसकेको उनले जानकारी दिए । तापक्रमको आधारमा तराई क्षेत्र बढी जोखिममा रहकोले उनले बताए ।

टास्क फोर्सले तराई केन्द्रित रहेर काम गर्ने उनले बताए । फौजी किरा नियन्त्रणको लागी सिफारिस गरिएका औषधि पर्याप्त नरहेको उनले बताए । त्यसको व्यवस्थापनको लागि एग्रोभेट सँग छलफल भइरहेको उनले बताए । फौजी किरा नियन्त्रण गर्न बनेको टास्क फोर्समा प्रमुख यादव सचिव रहेका छन् । अमेरिकन फौजी किराको प्रकोपका कारण प्रदेश १ का आठ जिल्लामा अघिल्लो वर्ष १० हजार ६ सय ७८ कृषकले २ हजार ७ सय १० हेक्टरमा लगाएको मकै बाली नष्ट भएको थियो ।

अमेरिकन फौजी किराले भने मुख्य गरी मकै बालीमा नै आक्रमण गर्ने गरेको छ । धानमा देखिएको फौजी किरा भए पनि त्यो रैथाने जातको फौजी किरा भएको प्रमुख यादवले बताए । आमेरिकन फौजी किरा नेपालमा पहिलो पटक गत वैशाखमा देखिएको हो । यसलाई अमेरिकन रैथाने किरा पनि भन्ने गरिएको उनले बताए । अमेरिकन फौजी किरा अमेरिकाबाट अफ्रिका त्यहाँबाट भारतको कर्नाटक हुँदै नेपाल प्रवेश गरेको बताइन्छ । अमेरिकन फौजी किरा शुरुवाती चरणमै नियन्त्रण गर्न नसके प्रकोपकै रूपधारण गर्ने उनले बताए । यस किराले दिनमा लुक्ने र रातमा बाली खाएर नष्ट गर्ने गरेको छ ।

भैपरि आउने प्रकोप नियन्त्रणको लागि प्रदेश सरकारले कोषको व्यवस्था गरेको छ । फौजी किराको नियन्त्रणको लागि आवश्यक बजेट भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराउने सुनसरी ज्ञान केन्द्र सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले बताए । समस्या भएका क्षेत्रको पहिचान गरेर त्यसको निदानको लागि समितिले काम थाल्ने उनले बताए । अहिले फौजी किराको समस्या नदेखिएको उनले बताए । यद्यपि किसानमा भने मकै बालीमा फेरि फौजी कीराको आक्रमण हुन सक्ने डर भने रहेको छ ।