भद्रपुर ।  विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्यका लागि बन्द भएको विमानस्थल शुक्रबारबाट सञ्चालनमा आएको छ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयको धावनमार्ग मर्मत सुरु भएसँगै कार्तिक २६ देखि मङ्सिर ५ गते सम्म विमानस्थल पूर्ण रूपमा बन्द भएको थियो ।

तोकिएको समय अवधि भित्रै सम्पन्न गरेपछि विमानस्थलबाट हवाई सेवा सञ्चालनमा आएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए । निर्माण कम्पनीले १० दिनको अवधिमा रातदिन खटेर काम गरेर मर्मत कार्यसम्पन्न गरेपछि पुनः विमानस्थल सञ्चालनमा आएको उनले बताए । अबदेखि नियमित उडान हुने उनको भनाइ छ ।

विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो । जीर्ण बनेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो । धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिका लागि सरकारले १० करोड २३ लाख खर्च गरेको हो । भद्रपुर विमानस्थल बन्द हुँदा हवाई यात्रु विराटनगर भएर काठमाडौँका लागि उडान भर्दै आइरहेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणले भद्रपुर विमानस्थलको स्तरोन्नतिसँगै धावनमार्ग विस्तार कार्यलाई दीर्घकालिक योजना बनाएर अघि बढाएसँगै भद्रपुर विमानस्थल सुधारोन्मुक तर्फ गएको छ ।

विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नति, लगायतका कामहरू गरिएको छ । काठमाडौँ–भद्रपुर–काठमाडौँ हवाई सेवाका लागि विमानस्थलमा बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० वटा विमानले नियमित उडान भर्दै आइरहेको प्राधिकरणले जनाएको छ ।