दमक / झापाको गौरादहमा आध्यात्मिक, सांस्कृतिक तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । महोत्सव आगामी मङ्सीर २ गतेदेखि १२ गतेसम्म आयोजना हुने जनाइएको छ । गौरादह नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका धार्मिक संस्थाहरूको संरक्षण गर्ने साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौं भन्ने उद्देश्यका साथ महोत्सव सञ्चालन हुन लागेको हो ।
महोत्सव नेपाल मानव धर्म सेवा समिति शाखा गौरादहको मुख्य आयोजनामा हुने जनाइएको छ । महोत्सव सफल बनाउन डाक्टर तिलक खनालको संयोजकत्व र क्रान्तिदीप काफ्ले महासचिव रहेको एक आयोजक समितिसमेत गठन गरिएको छ ।
गौरादह उद्योग बाणिज्य सङ्घको सभाहलमा दशैं तिहार शुभकामना आदनप्रदानका साथै धार्मिक महोत्सव आयोजना गर्ने विषयमा विशेष छलफल कार्यक्रम आयोजना गरी समितिलाई पूर्णता दिइने बताइएको छ । विशिष्ट ब्यक्तित्वहरूसँग छलफल र परामर्श गरी ुमितिका अन्य पदाधिकारीहरू छनौट गरिने पनि आयोजकले जनाएको छ । गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले विभिन्न जातजाति भाषाभाषीहरूको मिश्रित बसोबास रहेको मुलुकमा धर्म संस्कृति र परम्पराको रक्षा गर्न आवश्यक रहेको धारणा राखे । मानव धर्म सेवा समिति गौरादह प्रमुख गौमुखा बाईजीको सभापतित्वमा भएको कार्यक्रममा जनता मावि गौरादह व्यवस्थापन समितिका अध्यक्ष श्याम पोख्रेल, नेकपाका जिल्ला नेता मदन अधिकारी, नेपाली काङ्ग्रेस गौरादह नगर सभापति यादवराज सेडार्इं, राप्रपा गौरादह नगर अध्यक्ष शान्तिराम पौडेल, राष्ट्रिय हित एकता मञ्च झापा अध्यक्ष युवराज पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।