धरान/ मोरङको मिक्लाजुङकी खेलाडी रजनी श्रेष्ठले इण्डोनेसियाको बाताममा जारी एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालको तर्फबाट ऐतिहासिक रजतसहित दुई पदक जित्न सफल भएकी छन् ।

एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासङ्घको साधारणसभाका लागि बाताम पुगेका नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजनीले दुई फरक विधामा गरी रजत र कास्य पदक जितेको जानकारी दिए ।

शनिबार सम्पन्न साधारणसभाबाट एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासङ्घको उपाध्यक्षमा चयन भएका श्रेष्ठले जानकारी गराए अनुसार रजनीले ५५ केजी तौल समूहमा रजत तथा ३० वर्षमाथिको प्रतिस्पर्धामा कास्य पदक जितेकी हुन् ।

नेपाली महिला शारीरिक सुगठन खेलाडी रजनी श्रेष्ठले बाताममा भएको एशियाली शारीरिक सुगठन च्याम्पियनसिपमा इतिहास रचेकी छिन् । उनले रजत र कास्य पदक जितेकी छिन् । एक खेलाडी दुई पदक भन्दै श्रेष्ठले बधाईसमेत दिएका थिए । श्रेष्ठले उनलाई १ लाख ५० हजारले पुरस्कृतसमेत गर्ने भएका छन् ।

गतवर्ष पनि महेश्वर महर्जनले विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा ७५ केजी तौल समूहतर्फ उपाधि जितेर महेश्वरले नेपाली शारीरिक सुगठनलाई ठूलो सफलता दिलाएका थिए ।