उदयपुर/ उदयपुरको त्रियुगा नदीमा एकतर्फी बाँध निर्माण गर्दा बोझे गाउँ उच्च जोखिममा परेको छ । नदीमा एकतर्फी बाँध निर्माण गरेपछि त्रियुगा नगरपालिका–६ को बोझे गाउँ उच्च जोखिममा परेको हो ।

नदीको पानी पर्याप्त बहने ठाउँसम्म नराखी एकतर्फी बाँध निर्माण गरेपछि बाढीको उच्च जोखिममा बोझे गाउँ परेको स्थानीय सुवास राउतले बताए । गाउँभन्दा केही मिटरमाथि नदीको उत्तरतर्फ बाँध निर्माण गरेपछि दक्षिणतर्फको गाउँ जोखिममा परेको उनले बताए ।

पर्याप्त पानी बहने ठाउँसम्म नराखी बाँध निर्माण गरेकाले पानीको बहाव गाउँतर्फ फर्केको स्थानीय राउतले बताए । केही दिनदेखिको अविरल वर्षाले नदीमा आएको बाढीले गाउँतर्फ कटान गरिरहेको छ । खेतको धान बाढीले कटान गरी क्षति गरिरहेको उनले बताए ।

असारको खडेरीमा दुःख मेहनतले बल्ल–तल्ल खेतमा रोपेको धान बाँधका कारण बाढीले खेत नै बगाएको स्थानीय मीना पोखरेलले बताइन् । बाँधले खोलाको बाढी गाउँतर्फ फर्किएपछि धेरै खेतीयोग्य जमिन कटान गरिरहेको उनले बताइन् ।

अहिले पुरानो भइसकेको सामान्य बाँधले गाउँमा बाढी पस्नबाट रोकेको छ । वर्षा नरोकिएकाले नदीमा बाढीको मात्रा बढ्दै गएपछि त्यस बाँधले धान्ने अवस्था कम हुँदै गएको स्थानीय पोखरेलले बताइन् । कुनै बेला बाढीले बाँध फुटायो भने बोझे गाउँसहित नदी किनार आसपासका करिब चारवटा गाउँमा क्षति हुने उनले बताइन् ।

बाँध निर्माण गर्दा नदीलाई कम्तिमा दुई सय मिटर राख्नुपर्नेमा करिब ५० मिटर मात्र छाडेर बाँध लगाइएको छ । पहुँचको भरमा ऐलानी लग्गा बचाउन नदीभित्रै बाँध निर्माण गर्दा गाउँ जोखिममा परेको स्थानीय पोखरेलले बताइन् ।

जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय जनकपुरको बजेटबाट निर्मित बाँधले पीडित भएको भन्दै गाउँलेहरूले बाँध दुवैतर्फ एक साथ र एकनास रूपले निर्माण गर्नुपर्ने माग गरेका छन् । तत्काल बाढीले क्षति गरेको ठाउँमा बाँध लगाई गाउँमा हुने क्षति रोक्नसमेत स्थानीयले माग गरेका छन् ।