पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले शुक्रबार पथरी बजार क्षेत्रमा मासु तथा एग्रोभेट पसल अनुगमन् गर्दै पसल व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिएको छ ।
नगर उपप्रमुख यमुना बिष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिग्राम काफ्ले, १ नम्वर वडाध्यक्ष बाबुराम एङदेन, पशुपंक्षी शाखाका हेमचन्द्र दहाल, पर्वत शाह, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, सुरक्षाकर्मी सहितको टोलीले १९ वटा पसलको अनुगमन् गरेको छ । जसमध्ये १३ वटा मासु पसल रहेका छन् । त्यसमा पनि ३ वटा पसलको त नामै नराखिएको पाइएको छ । दशैं तिहारमा स्वच्छ मासुको व्यवस्थापन गर्न पसलेलाई सचेत गराउँदै पसल अनुगमन् गरिएको हो ।
जसमा, अधिकांश मासु पसल दर्ता नभएको, कतिपय मासु काट्नेस्थल अव्यवस्थित, मासु काट्ने व्यक्तिले ग्लोब, बुट, इप्रोन नलगाई सुरक्षा नअपनाएको, अचानो तथा मासु छोप्ने कपडा राम्ररी सफा नगरेको, मासु खुला ठाउँमा राखेर समेत बिक्री हुने गरेको पाइएको समिति संयोजक बास्तोलाले जनाइन् । मुल्यसूची पनि धेरैजसोले नराखेको, धेरै प्रकारका मासु एकैठाउँ राखेर बेचिएको, केहीले होडिङ बोर्ड नराखेको, केहीमा होडिङ बोर्ड भएपनि दर्ता नम्वर र प्यान नम्वर नराखेको पाइएको छ ।
भेटेरीनरी पसलमा विषादी र औषधि एकैठाउँमा राखेर बेचेको, पसलमा मुल्यसूची सहितका व्यवस्थापनका कुरामा सुझाव दिइएको छ ।
अधिकांश पसलेलाई नगरपालिका कार्यालयमा आएर मासु तथा भेटेरीनरीको प्रावधानका बारेमा स्पष्ट बुझ्न र सो अनुरुप कार्यान्वयनमा ल्याउन सुझाव दिइएको छ ।
उता, पशुपंक्षी शाखाले पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनेटिक रोगबाट नगरका १० वटा माध्यामिक विद्यालयका विद्यार्थीका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । रेविज, बर्डफ्लू, जापानिज इन्सेफ्लाइटिस्, लेप्टो स्पाइरोसिस, सिक्टीसर्काेसिस लगायतका रोग पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने भएकाले त्यसबाट बच्ने सचेतना बारेमा जानकारी गराइएको हो । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि दिइएको विद्यालय शिक्षा कार्यक्रमको सहजिकरण शाखाका हेमचन्द्र दहाल र पर्वत शाहले गरेका थिए ।