बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका ३४ परिवारका मुसहरले घर पाएका छन् । बिर्तामोड नगरपालिका, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र ह्याविट्याट फर ह्यूमानिटीको सामुहिक लगानीमा घर निर्माण गरेर हस्तान्तरण गरिएको हो ।
बिर्तामोड नगरपालिकाले ७५, सहारा नेपाल २५ हजार र ह्याविट्याट फर ह्यूमानिटीको ५० हजार रुपैयाँ प्रतिघरको लगानीमा सामुदायिक आवास गृह निर्माण गरिएको हो । झुप्रो घरमा जीवनयापन गरिरहेका परिवारलाई टिनको छानो भएको पक्का घर उपलब्ध गराइएको छ ।
मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका परिवारलाई नगरपालिकाको अगुवाईमा निर्माण गरिएको घर प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख धु्रव कुमार शिवाकोटी र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । संविधानले नागरिकको आवास अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेकाले नगरपालिकाले घर निर्माण गरिदिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए ।
उनले सन्थाल जातिको आर्थिक जीवन नै कष्टकर भएकाले आवास निर्माणमा सहयोग गरेको बताए । शिवाकोटीले दैनिक मजदुरी गरेर मादक पदार्थ सेवन गरेका कारण उनीहरुले आर्थिक उन्नति गर्न नसकेको बताएका थिए । प्रमुख शिवाकोटी भने, ‘मादक पदार्थ खाने पैसा बचत गनुहोस्, घर हामीले बनाइदिइएका छौँ । स्वास्थ्य र शिक्षा हाम्रो जिम्मा हो ।’ सो क्षेत्रमा बस्ने बिपन्न समुदायका मानिसको आवास समस्या थियो, अब हुने आम्दानी बचत गरुन् भन्ने हाम्रो उद्देश्य हो, प्रमुख शिवाकोटीले भने ।
प्रदेश सांसद कार्कीले सरकार गरिव, विपन्न नागरिकको पक्षमा रहेको बताएका छन् । घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा र बेराजगारलाई रोजगारी वर्तमान सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । घर हस्तान्तर गर्दै कार्कीले भने, ‘अघिल्लो सरकारले गरिवलाई के दियो ? हामीले घर दिएका छौँ ।’ कोहि पनि नागरिक अब आवास विहीन बन्नुपर्ने छैन ।’ उनले तराई फाँडेर बस्ने नागरिकको घर समेत नहुनु विडम्बना भएको तर्क गरे ।
सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले स्थानीय सरकारसँगको सहकार्यमा विपन्न नागरिकको आवास निर्माण गर्न संस्था सधैं तयार रहेको बताएका छन् । उनले झापाको ८ स्थानीय तहमा २ सय ५४ वटा घर निर्माण गरेको जानकारी दिए । हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्न सहकारी सहकार्य गर्न तयार रहेको बताउँदै संस्थाले सामाजिक क्षेत्रमा काम गरिरहेको बताए ।
नगरपालिकाले घर नंं.१ मुन्सीबस्तीका मुखिया मुन्सी मुर्मूलाई उपलब्ध गराएको छ ।
घर पाएपछि –८६ वर्षीय मुन्सीले खुशी व्यक्त गरेका छन् । सोहि ठाउँमा जन्मिएका मुर्मूले झुप्रो घरमा जीवन बिताइरहेका थिए । उनले भने, घर पाइन्छ भन्ने सपनामा पनि देखेको थिइन । सरकारले घर बनाइदियो, अब छोराछोरीलाई गरिखान सजिलो हुनेभयो, उनले भने । घर पाउने अर्का विपन्न परिवारका सन्तकुमार राईको खुशी बेग्लै थियो । उनले जीवनको अन्तिम लक्ष्य पुरा भएको बताएका छन् । जमानामा दिनभर काम गर्दा पेट मात्र भरिन्थ्यो, अहिले झन महंगीले घर बनाउने सोच नै थिएन । बिर्तामोड नगरपालिकाले जनताको घर बनाएर ठुलो धर्म ग¥यो । ५६ वर्षीय राईले अब सुखका दिन आएको अभिव्यक्ति दिएका छन् ।