पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रभित्र विद्युतको समस्या समाधानका लागि आज जनप्रतिनिधि र विद्युत प्राधिकरणका कर्मचारीहरुले अवलोकन गरेका छन् ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, नगर उपसचिव शालिकराम काफ्ले सहित नगर अनुगमन् समितिका सदस्य तथा विद्युत प्राधिकरण उर्लावारी प्रमुख शिवराम यादव सहितको टोलीले वडा नम्वर ८ मा अवलोकन गरेको छ ।
टोलीले वडा नम्वर ८ को कुशेस्थित भेटघाट चोकमा भोल्टेज कम भएको तथा ट्रान्समिटरको आवश्यकता रहेको जानकारी लिएको छ । त्यहाँ बासका खाँवामा तार टाँगिएकोमा पोल उपलब्ध गराएर तार टाँग्नु पर्ने देखिएको स्थानीय समाजसेवी युवा नविनजंग कार्कीले जनाए । कार्कीले सो वडा क्षेत्रमा विपन्न वस्तीमा भएका विद्युतका समस्याका बारेमा टोलीलाई अवगत गराएका थिए । जस अनुरुप, शान्ति चोक तथा त्यसभन्दा भित्री टोलमा केही पोल र तार भएपनि विद्युत प्रशारण नगरेको अवस्था देखिएको छ । कतिपय ठाउँमा बाँस गाँडेर जोखिमपूर्ण रुपमा विजुली लगिएको छ । पुलचोक टोलमा ट्रान्समिटर र फेज थपको आवश्यकता रहेको छ ।
शुक्रवारे बजारका घरहरुमाथिबाट विजुलीको तार रहेकाले त्यहाँ हुनसक्ने जोखिम हटाउन पोल सार्नुपर्ने स्थानीयले सुझाव समेत दिएका छन् । टोलीले त्यहाँ अति विपन्न अवस्थामा बेसहारा बनेकी कुष्ठारोगले अपाङ्गता भएकी एकल महिला तुम्वादेवी राईको बस्नै नहुने अवस्थाको घरको पनि अवलोकन गरेको छ ।
टोलीमा सहभागि विद्युत प्राधिकरण उर्लावारी प्रमुख यादवले त्यहाँ आवश्यक देखिएको ठाउँमा विद्युत, पोल र ट्रान्समिटरको प्रवन्ध गर्ने जनाउनु भयो । उपप्रमुख वास्तोलाले आवश्यक ठाउँमा विद्युत, पोल र ट्रान्समिटरको प्रवन्ध गर्न कार्यालय प्रमुख यादवलाई जानकारी गराउँदै स्थलगत अवलोकनका लागि निम्त्याएकी थिइन् ।
टोलीले, वडा नम्वर ९ को श्रीजंगा आधारभूत विद्यालयको समेत छड्के अनुगमन् गरी प्रधानाध्यापक सहित सवै शिक्षकहरु उपस्थित नभएको अवस्था फेला पारेको छ ।