धरान । सरस्वती बाल आश्रमले राष्ट्रिय बाल दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ ।
राष्ट्रिय बाल दिवस भदौं २९ गते पर्छ । साताव्यापी कार्यक्रम अन्तर्गत आज (बिहीबार) प्रदेश १ को संसद्मा बाल आश्रमका बालबालिकाहरूबीच बालबालिका कार्यक्रम हुँदै छ । यसक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीसँग प्रत्यक्ष भेटघाटको अवसर प्रदान गरिँदै अन्तक्र्रिया गरिने कार्यक्रम संयोजक विकासकुमार बनेपालीले बताए । त्यस्तै विराटनगरको आरती स्टील उद्योगमा बालिबालिकाहरूले भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ । शुक्रबार स्वास्थ्यका लागि खेलकुद भन्ने सन्देशसहित आश्रमका बालबालिकाहरूबीच खेलकुद कार्यक्रम गरिने भएको छ ।
शनिबार सेवक अभियानसँगको सहकार्यमा स्वास्थ्यका लागि पदयात्रा गरिने भएको छ । त्यस्तै भदौं २३ गते धरान उपमहानगरका कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीसँग आश्रमका बालबालिकाहरूले अन्तक्र्रिया कार्यक्रम गर्ने महासचिव मनिष खड्गीले बुधबारको पत्रकार सम्मेलनमा बताए । उनका अनुसार भदौं २४ गते बालबालिकालाई व्यवहारिक ज्ञानका लागि रामधुनी नगरमा रहेको ६४ बिघा क्षेत्रमा शैक्षिक भ्रमण गराउने भएको छ ।
भदौं २६ गते रोटरी क्लब अफ धरान घोपाको सहकार्यमा स्वास्थ्य शिविर कार्यक्रम गरिने छ । भदौं २७ गते प्रदेश १ मा रहेका बाल गृहभित्रका बालबालिकाहरूसँग भेटघाट र अन्तक्र्रिया गरिने भएको छ । त्यस्तै भदौं २८ गते आश्रित बालबालिकाहरूबीच मै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरिने भएको छ । धरान सङ्गीत प्रतिष्ठानको सहकार्यमा कार्यक्रम गरिने मूल संयोजक विष्णुकुमार राईले बताए । साताव्यापी कार्यक्रमको लागि विभिन्न संयोजकहरू तोकिएको आश्रमका अध्यक्ष दानबहादुर राईले बताए । उनले बाल दिवसको अवसरमा ३२ औं साधारणभास र पुरस्कार वितरण कार्यक्रम गरिने बताए । आश्रममा २६ जना बालबालिकाहरू आश्रित रहेका छन् ।