धरान । जनसहभागिताको नमूना नगर धरान उपमहानगरपालिका आगामी दुई वर्षमा छिमेकी स्थानीय तहहरूसँग पुल र सडक सञ्जालले जोडिने भएको छ । केन्द्रीयस्तरबाट लामो समयदेखि बजेट पाउन नसकेको धरानले पछिल्लो समयमा मात्र प्रदेश र सङ्घबाट पूर्वाधार विकास निर्माणका लागि बजेट पाउन थालेकाले छिमेकी स्थानीय तहसँग पुल र सडक सञ्जालले जोडिने भएको हो ।

छिमेकी स्थानीय तहसँग प्रत्यक्ष जोडिनका लागि धरान वरिपरिका सेउती र सर्दुलगायत अन्य खोला–नदीमा आठवटा पक्की पुल निर्माणाधीन रहेका छन् । कतिपय पुल निर्माण पूरा भएका छन् भने केही पुल निर्माण सम्पन्न हुन बाँकी छ । पुल निर्माणसँगै सडक सञ्जाल पनि विस्तार भएका छन् ।

धरानलाई छिमेकी स्थानीय तहसँग जोडेमा मात्र धरानको पुरानो व्यापारिक साख फर्किने भएकाले खोला र जङ्गलले विभाजन गरेका छिमेकी स्थानीय तहसँग जोड्न पुल निर्माण र सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएको सुनसरी क्षेत्र नं. १ का सङ्घीय सांसद् जयकुमार राईले बताए । उनले भने, ‘इटहरी र साँगुरी गढी गाउँपालिका (भेडेटार) सँगमात्र धरान सडक र पुलको सञ्जालबाट प्रत्यक्ष जोडिएको थियो । अब वराहक्षेत्र, झुम्का–बक्लौरी, महेन्द्रनगर, प्रकाशपुर, विष्णुपादुका उत्तरका छिमेकी स्थानीय तहहरू, त्यस्तै केराबारी, याङ्शिला, झुम्कासँग पनि पुल र सडक सञ्जालसँग प्रत्यक्ष जोडिने भएका छन् ।’

सांसद् जयकुमार राईले एक दशक अघिसम्म विकास नभएको धरानले अब दुईदेखि तीनवर्षमा विकास निर्माणको स्वाद चाख्ने र देख्ने दाबी गरे । ब्लाष्टसँग फोनवार्तामा उनले भने, ‘सङ्घीयता आएपछि धरानको विकास निर्माणका लागि धेरै बजेट विनियोजन भएका छन् । ती बजेटले धरानलाई चारैतिरबाट सडक र पुलको सञ्जालबाट जोड्न आठवटा पुलहरू निर्माणाधीन छन् । तीमध्ये अधिकांश निर्माण सम्पन्न हुने अवस्थामा छन् । केही सडक र पुल निर्माण शुरु भएका छन् ।’

उनले मदनभण्डारी राजमार्ग अन्तर्गत धरान–हेटौंडा जोड्ने सडकमा पनि पुल निर्माण भइरहेका छन् । ठकुरी खोलामा धरान–चतरा पुल, पट्नालीस्थित सेउती खोलामा पुल, पत्रङ्बारी जाने सेउतीमा पुल, धरान–विष्णुपादुका जाने सर्दु खोला, झुम्का–धरान जोड्ने बक्लौरीको सेउतीमा पुल सडक सञ्जाल धरान–पानबारीको सेउती र अँधेरी खोलामा पुल निर्माण अन्तिम अवस्थामा पुगेको बताए । ती सबै पुल र सडक तीनवर्षमा एकसाथ चालू भएमा धरानको मुहार फेरिने दाबी गरे ।

पुल र सडक सञ्जाल एकसाथ तयार भएपछि छिमेकी स्थानीय तहका कृषक, व्यापारी, विद्यार्थीलगायत धेरै पक्षले धरानसँग प्रत्यक्ष सम्बन्ध गाँस्ने र धरानसँगै ती छिमेकी स्थानीय तहको पनि विकास निर्माणमा टेवा पुग्ने सांसद् राईले बताए । उनले धरानका विभिन्न पर्यटकीयस्थल धार्मिकस्थलहरू परेकाले आन्तरिक वाह्य पर्यटक आकर्षित गर्न गुरुयोजनाहरू बनाइरहेको बताए । उनले भने, ‘भेडेटार–विजयपुर–विष्णुपादुका–वराहक्षेत्र घुम्नका लागि केवलकारको योजना पनि बनिरहेको छ ।

साथै सेउती र सर्दु करिडोर निर्माण गर्ने तयारी भइरहेको छ ।’
हाल भइरहेका विकास निर्माणका पूर्वाधार तयारसँगै प्रदेश सरकारले आधुनिक बसपार्क निर्माणका लागि डिपिआर बनाउँदै गरेको पनि सांसद् राईले बताए । उनले भने, ‘विराटनगर–रानी–किमाथाङ्का सडकले छुने भेडेटारको छोटीमोरङमा पर्यटकीय थाउजण्ड विग बुद्धको प्रतिमा निर्माणका लागि पनि काम भइरहको छ । कोशी करिडोरका लागि मुख्य बजारको सडक पनि कम क्षति गरेर विस्तार गरेर लैजाने र बाइपास सडक पनि निर्माण गर्ने तयारी भइरहेको छ ।’

उनले धरानलाई स्वास्थ्य पर्यटनको केन्द्र बनाउन बीपी प्रतिष्ठानको स्तरोन्नति गर्दै आइसियु, एनआइसियु, आकस्मिक कक्ष विस्तारका लागि मन्त्रालयहरूमा पहल गरिरहेको बताए ।