दमक/ झापाको शिवसताक्षी–२ धरमपुर मङ्गलबारे बजारमा पार्किङ टाली लगाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रदेश–१ निर्वाचन पूर्वाधारअन्तर्गत सांसद् झलकसिंह दर्लामी ‘सन्देश’ को तर्फबाट २० लाख, वडा नं २ बाट ३ लाख र स्थानीय सहभागिताबाट १ लाख २५ हजार रुपैयाँसहित कुल २४ लाख २५ हजार ७ सय ६९ रुपैयाँ लागतमा मङ्गलबारे बजारक्षेत्रमा पार्किङ टाली लगाइएको हो ।

मङ्गलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भीम नेम्बाङका अनुसार गत जेठ ३ गते शुक्रबारदेखि शुरु भएको टाली लगाउने कार्य असार २० गते सम्पन्न गर्ने लक्ष्य छ । उनले बजार क्षेत्रमा टाली लगाइसकेपछि मङ्गलबारे बजारको छुट्टै परिचय बढेर जाने विश्वाससमेत गरेका छन् ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब पाँच किलोमिटर दक्षिणमा पर्ने मङ्गलबारे बजार डुडामारी, लालझोडा, धौलीचौक, शिवगञ्जको हल्दिबारी, हवल्दारचोक, पाँचगाछीको जनता, सालमारा, तोपगाछीको क्याम्पा, ढ्याङग्री, सडङ्पाडालगायत बैगुनधुरा, माहाभारा, केर्खा, दुधे, धरमपुर लगायतका स्थानबाट किनमेलका लागि आउने गरेका छन् । बजारमा दैनिक उपभोग्य सामग्रीहरूलगायत तरकारी तथा फलफूल, कपडा तथा अन्य भौतिक सामग्री, काठ, फलाम र बाँसद्वारा निर्मित सामग्रीलाई व्यवस्थित गरिनेछ ।

बजारमा पशु वधशालासमेत निर्माण गरी मासुजन्य सामग्रीको कारोबारलाई पनि व्यवस्थित गर्ने योजना रहेको बजार व्यवस्थापन समितिले जनाएको छ । सो स्थानमा दुई कोठे भवन निर्माण गरिरहेको बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेम्वाङले बताए । साताको प्रत्येक मङ्गलबार लाग्ने बजारमा साना तथा ठूला व्यापार व्यवसायीको आकर्षण बढ्दै गएको छ ।

यही बजार हुँदै दमक–धरमपुर–पाँचगाछीसम्म यात्रुवाहक बस सञ्चालन हुने गर्छ । यही बजारमा कक्षा–१२ सम्म अध्यन हुने मोती माध्यमिक विद्यालयसहित दुईवटा निजी विद्यालय जोफ्री अङ्ग्रेजी विद्यालय र मनकामना अङ्ग्रेजी विद्यालसँगै दुईवटा वित्तीय सहकारी संस्था सञ्चालनमा रहेको स्थानीय युवा भुवन राईले जानकारी दिए ।