धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गिरिधारी सापकोटा निर्वाचित बनेका छन् ।
प्रत्यासी विजय श्रेष्ठलाई ७८ मतले पछि पार्दै सापकोटा विजयी बनेका हुन् । तीन वर्षे कार्यकालका लागि अब सापकोटाले उवासङ्घको नेतृत्व गर्ने छन् । सापकोटाले ७४१ मत प्राप्त गर्दा श्रेष्ठले ६६३ मत मात्रै प्राप्त गरेका थिए । सापकोटा नेकपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए भने श्रेष्ठ काङ्ग्रेसको समर्थनमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ दुई पटक महासचिव र एक पटक प्रथम उपाध्यक्ष बनिसकेका व्यक्ति हुन् भने सापकोटा ३ पटक वाणिज्य सचिव र एक पटक द्वितीय उपाध्यक्ष रहेर जिम्मेवारी सम्हालिसेका थिए । सापकोटा २०४२ सालदेखि साधारण सदस्य हुँदै कार्य समितिमा २०५८ सालदेखि आएका थिए भने श्रेष्ठले २०५५ सालदेखि साधारण सदस्य हुँदै २०६२ सालदेखि मात्रै कार्य समिति सदस्यमा निर्वाचित बनेका थिए ।
पछिल्लो पटक नेकपाले राजेन्द्र साहको पालामा मात्रै अध्यक्ष पद गुमाएको थियो भने त्यसअघि नेकपाबाटै अध्यक्षमा प्रतिनिधित्व गर्दै आएका थिए । यसचोटि नेकपाले अध्यक्ष जित्ने रणनीतिमा लागेको थियो । १ हजार ७ सय ४८ सदस्य नवीकरण भए पनि १ हजार ४ सय ३४ मत मात्रै खसेको थियो । त्यसमा पनि अध्यक्षद्वयलाई १ हजार ४ सय ४ मत मात्रै खसेको उवासङ्घ निर्वाचन आयोगका आयुक्त डा. राजेन्द्र शर्माले जानकारी दिए ।
वाणिज्यतर्फ ८ पदका लागि १४ जनाले स्पर्धा गरेका थिए । त्यसमध्ये मानबहादुर बिकले सर्वाधिक ५८५ मत, नवीन राजभण्डारीले ५४६ मत, मनोज श्रेष्ठले ५२७ मत, शशी साहले ५०७ मत, राजेश अग्रवालले ५०३ मत, अशोक जैन डाँगाले ४७५ मत, दिनेश राईले ४७१ मत, र सीताराम आचार्यले ४६९ मत प्राप्त गरेका थिए । वाणिज्यको महिलामा शुभेच्छा अधिकारीले ४७५ मत ल्याउँदै विजयी बनेकी छन् । उनको प्रतिद्वन्द्वी ममता शाक्यले ३ सय मत प्राप्त गरेकी थिइन् ।
वाणिज्यतर्फ अमित अग्रहरीले ४५४ मत, जयप्रकाश शर्माले ४०९ मत, प्रेमप्रसाद पराजुलीले २८८ मत, रञ्जीत चौधरीले २९८ मत, शैलेसकुमार आचार्य प्रमोदले ३५९ मत, उपेन्द्र चाम्लिङले ४६० मत प्राप्त गर्दै पराजित भए । उद्योगतर्फ ४ जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये विष्णु बरालले ३३१ मत, पियुसराज आचार्यले ३२२ मत, महेन्द्र प्रधानले ३१७ मत र प्रभाव खतिवडाले २६८ मत प्राप्त गर्दै विजयी बनेका छन् ।
उद्योगतर्फ महिलामा एलिना मगर निर्विरोध निर्वाचित बनेकी थिइन् । यता अनुप देवान २०८ मत, राजकुमार निरौला २०३ मत, राजकुमार राई २१४ मत र रोजन रणपहेलीले १८२ मत प्राप्त गरेका थिए । उद्योगतर्फ ५९४ सदस्य रहे पनि ५५१ मत मात्रै खसेको थियो । त्यस्तै एसोसिएटतर्फ ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका थिए ।
जसमा राजेश अग्रवाल गोयलले ६२ मत, गोपाल श्रेष्ठले ५३ मत र अनिलकुमार अग्रवालले ४६ मत प्राप्त गर्दै विजयी बनेका थिए । एसोसिएटमा किशन मास्केले ४० मत र राजु साहले ३९ मत प्राप्त गर्दै पराजित बने । वस्तुगततर्फ १६ मतदातामध्ये १५ मत मात्रै खसेको थियो । जसमा शिवराज श्रेष्ठ र रामस्वरूप शर्मा निर्विरोध निर्वाचित बनेका थिए ।