विराटनगर । मोरङ व्यापार सङ्घमा प्रकाश मुण्दडाको समूहनै निर्वाचित भएको छ ।
सङ्घको ३२ औं कार्यकारिणी समितिको शुक्रबारको निर्वाचनबाट मुण्दडाको समूह भारी मतले विजयी बनेको हो । उद्योग र वाणिज्य दुवैतर्फ मुण्दडा समूह नै निर्वाचित भएको छ । निर्वाचित समूहले मुण्दडालाई प्रस्तावित अध्यक्षको रूपमा अगाडि सारेको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा नवीन रिजाल र महासचिवमा अनिल साह हुने सम्भावना बढेको छ । केही दिनभित्रै पदाधिकारी चयन हुने निर्वाचित अधिकारीले बताएका छन् । उद्योगतर्फ निर्वाचित मुण्दडाले २ सय १३ मत ल्याएका थिए । त्यस्तै उद्योगतर्फ अनुपम राठीले २ सय १३, अनिल सारडाले २ सय १४, आशिष जाजुले २ सय ३, दिपेश सुवेदीले २ सय १२, पवन राठीले २ सय १० र सुनिल टिवडेवालाले २ सय १० मत ल्याएका थिए । उद्योगतर्फ ८ पदको लागि ११ जनाले उम्मेदवारी दिएका थिए ।

उद्योगतर्फ धिरज पोखरेल, मेघराज सिग्देल र सुकुमार सेनले क्रमशः १०, १७ र ६ मत ल्याएर पराजित भए । ष्ता वाणिज्यतर्फ नवीन रिजालले २ सय ७६, अनिलकुमार साहले २ सय ७५, दिवाशिष गोल्छाले २ सय ७४, विकासकुमार बेगवानीले २ सय ७८, बिनित सिङ्घानियाले २ सय ७६, मनिषकुमार मारूले २ सय ७९, राजेशकुमार अग्रवालले २ सय ७३ र शुशील सुरानाले २ सय ६३ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता भरतबहादुर थापाले जानकारी दिए ।

वाणिज्यतर्फ ८ पदका लागि १० जनाले उम्मेदवारी दिएका थिए । वस्तुगततर्फ २ पद भने सञ्जयकुमार श्रेष्ठ र सन्तनु रेग्मी निर्विरोध निर्वाचित भएका थिए । पराजित समूहमध्येका राजेन्द्र राउत पूर्व वरिष्ठ उपाध्यक्ष हुन् । वाणिज्यतर्फ २ सय ९८ मत खसेकोमा १५ मत बदर भएको थियो । उद्योगतर्फ २ सय ९६ मत खसेकोमा ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचित सदस्यहरूलाई शुक्रबारै प्रमाण–पत्र वितरण गरिएको छ ।