विराटनगर / आफनै उद्योगमा काम गर्ने कर्मचारीको श्रीमतिलाई करणी गरेको आरोपमा पक्राउ परेका उद्योगी विराटनगर – ३ घर भएका ४५ वर्षीय दीपक गौतम पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश महेन्द्र प्रसाद पोखरेलको इजालशले गौतमलाई मंगलबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।

अदालतको आदेशपछि गौतम पूर्पक्षको लागि जिल्ला कारागार विराटनगर थुनामा गएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । गौतम विराटनगर–३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । लामो समयदेखि सञ्चालित यस उद्योगमा प्लाष्टिक प्याकेजिङका लागि प्रि डिजाईनका काम र सिटीपिको प्लेट बन्ने गरेको थियो । त्यही उद्योगमा कार्यरत एक कर्मचारीकी श्रीमतीलाई बैशाख १५ गते साँझ ७ बजे गौतमले उद्योगको फेमेली कोठा भित्र लगेर जव्वरजस्ती  करणी गरेको आरोप लागेको थियो । पीडित परिवारले १८ वैशाखमा प्रहरीमा उजुरी दिएपछि मोरङ प्रहरीले सोही दिन गौतमलाई पक्राउ गरेको थियाे ।

 गौतमको उद्योगमा काम गर्ने कर्मचारी र उनकी श्रीमती उद्योग परिषरमै लामो समयदेखि फेमिली क्वार्टरमा बस्दै आएका थिए । उद्योग सञ्चालकले आफूमाथि बलात्कार गरेको कुरा महिलाले आफ्ना श्रीमानलाई बताएपछि घटना बाहिर आएको थियो । गौतमले १५ वैशाखमा उद्योगको बाथरूपमा करणी गरेको आरोप छ । त्यस अघि पनि उद्योग सञ्चालकले पटक–पटक बलात्कारको प्रयास गरेको जानकारी महिलाले प्रहरीलाई दिएकी थिइन् ।