विराटनगर/ विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा कुल ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
दश महीनाको अवधिमा लक्ष्यमा ७४.६७ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गत वर्ष सोही अवधिमा २५ अर्ब ३० करोड ८३ लाख ५२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा २५ अर्ब ३४ करोड ५६ लाख ८४ हजार राजश्व सङ्कलन गरेको थियो ।
गतवर्षको तुलनामा चालू आ.व.को सोही अवधिमा ६ अर्ब ४१ करोड १५ लाख ९० हजार बढी राजश्व सङ्कलन भएको हो । राजश्व सङ्कलनको स्थिति हेर्दा गतवर्ष साउन र भदौ महिनाबाहेक प्रत्येक महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन भएको देखिन्छ भने चालू आ.व.को साउन महिनामा १००.६८ प्रतिशत र असोज महिनामा १३३.५६ प्रतिशत प्रगति भए पनि अन्य महिनामा राजश्व सङ्कलनमा गिरावट आएको देखिन्छ ।
लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न कार्यालयलाई बाँकी दुई महिनामा कठिन यात्रा गर्नुपर्ने अवस्था देखिन्छ भने लक्ष्यमा पुग्न १० अर्ब ७७ करोड ४६ लाख ४४ हजार राजश्व उठाउनुपर्ने स्थिति छ । राजश्व सङ्कलनको स्थिति हेर्दा अब कार्यालयले दुई महिनामा ६ अर्बभन्दा बढी उठाउन सक्ने अवस्था छैन ।
लक्ष्यअनुसारको प्रगति नभएको जिज्ञासामा कार्यालयका निमित्त प्रमुख मणिराम पौडेलले विभागको महत्वाकांक्षी लक्ष्य र यो नाकाबाट आयात ह्वात्तै घट्नु नै यसको कारण भएको बताए । गतवर्षको तुलनामा सोही अवधिमा २५ प्रतिशत राजश्व बढी सङ्कलन भएको उनले बताए ।
चालू आ.व.को वैशाख महिनासम्ममा कुल २१ अर्ब २१ करोड १० लाख ७१ हजार मूल्य बराबरको सामान निकासी र एक खर्ब ३६ अर्ब ११ करोड ७१ लाख ७८ हजार मूल्य बराबरको सामान पैठारी भएको छ । गतवर्ष सोही अवधिमा निकासी २० अर्ब १० करोड सात लाख ६० बराबरको र पैठारी एक खर्ब १८ अर्ब १० करोड ५६ लाख ३३ हजार मूल्य बराबरको सामान पैठारी भएको थियो ।
विराटनगर भन्सारदेखि भारत तथा समुद्रपार निकासी हुने वस्तुमा पिना, भेनियर सिट, वनस्पतिजन्य उत्पादनहरू, चोकर भुस, खजुरको प्रशोधित तेल, सिन्थेटिक यार्न, जुटबाट बुनिएका कपडा, बोरा र झोला, अन्य रेसाको कपडा, जिआई वायर रहेका छन् । त्यस्तै भारत तथा समुद्रपार पैठारी हुने वस्तुमा हाइस्पिड डिजेल, एमएस विलेट, तयारी कपडा, पेट्रोल, पोलिथिन दाना, सिआर सिट, स्टिल वायर रड इन क्वायल र एमएससम्म, एलपी ग्यास, एच.आर.सिट र सिमेन्ट क्लिङ्कर छन् ।