भद्रपुर /  नक्कली वावु वनेर वंशजको आधारमा भारतीयलाई नागरिकता दिलाउन प्रशासन कार्यालय आएको घटनामा पक्राउ परेका भारतीय नागरिक ३५ वर्षीय भूपाल गुरुङलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि झापा कारागार चलान गरेको छ ।
भारतीय नागरिकलाई जेठो छोरा भन्दै नागरिकता दिने क्रममा पक्राउ परेका कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ् भने धरौटी बुझाएर तारिखमा छुटेका छन् । आइतबार न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले थुनछेकको आदेश सुनाउँदै भारतीय नागरिक भूपाललाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए । न्यायाधीश भुपालकै थुनछेक आदेश बमोजिम नेपाली नागरिक बमबहादुरलाई ३० हजार धरौटमा तारिखमा रिहा गरेको स्रेस्तेदार खनालले जानकारी दिए ।
नेपाली नागरिकता लिएको खण्डमा तोकेको सजाय तथा जरिवाना अनुसार विदेशी नागरिकको हकमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ । तर, नागरिकता नलिई पक्राउ परेकाले सो सजाय तथा जरिवाना उद्योगमा गएर दर्ता भई ६ महिनादेखि साढे दुई वर्ष कैद र २५ हजारदेखि ५० हजार सम्म जरिवाना हने कानुनी व्यवस्था छ । त्यस्तै नागरिकताको कागजात मिलाउने वा सिफारिस गर्ने व्यक्तिको हकमा ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना हुने स्पष्ट उल्लेख गरिएको खनालले जनाए ।
भारतीय नागरिक आसाम राज्यको मणिपुर कानकोपी जिल्ला बस्ने भूपाल र बमबहादुरलाई प्रशासनका कर्मचारीले कार्यालयबाट नै वैशाख १० गते प्रहरीलाई जिम्मा लगाएका थिए । २४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापाले जेठ ३ गते अदालतमा मुद्दा दर्ता गराएको थियो ।
भारतीयसहित दुई जना नागरिकता काण्डमा पक्राउ परेपछि प्रहरी कार्यालय झापाले कागजात मिलाउने कचनकवल २ का वडा अध्यक्ष, वडा सचिवसहित ९ जनाको नाममा अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतले जारी गरेको पक्राउ पुर्जीमा वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, कार्यालयका वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा,कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालको नाम उल्लेख गरिएको थियो ।
फरार रहेका वडा सदस्य धनबहादुर गुरुङ सोमबार अदालतमा उपस्थित भएका थिए । अदालतले वडा सदस्य गुरुङलाई ५० हजार धरौटी तिराएर तारिखमा रिहा गरेको अदालतमा स्रेस्तेदार खनालले बताए ।