बिर्तामोड(ब्लाष्ट) झापाको पुरानो बजार शनिश्चरेको व्यवस्थापन शुरु गरेको अर्जुनधारा नगरपालिकाले वधशालासहितको कृषि मण्डी निर्माण गर्ने भएको छ । शनिबारे हाट सारिएको स्थान नजिकै नगरपालिकाको पहलमा कृषि मण्डी बन्ने भएको हो ।

कृषि मण्डीका लागि भवन बन्ने निश्चित भएपछि नगरपालिकाले शनिश्चरे बजारको दिगोरुपमा व्यवस्थापन गर्न बाटो खुलेको छ । नगरपालिकाले कृषि मण्डीको लागि भवन निर्माण गरेर दीर्घकालीन बिकासको कार्य शुरु गरेको बताएको छ ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै मेयर हरिकुमार रानाले कृषि मण्डीको निर्माणले अव्यवस्थित बजारको अन्त्य हुने दाबी गरे । कृषि मण्डी बनेपछि दक्षिणी इलाममा उत्पादन हुने कृषिजन्य वस्तुको थोक बिक्री गर्न सकिने उनको भनाइ छ । अर्जुनधारा क्षेत्रमै उत्पादन भएका कृषिजन्य वस्तुले पनि बजार पाउने उनको विश्वास छ ।

दुई करोड ४० लाख रुपैयाँको लागतमा सात वटा ब्लक निर्माण गर्ने ठेक्का लागिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले जानकारी दिए । उनका अनुसार शौचालयसहित कृषि र मासुजन्य वस्तुको बिक्रीका लागि व्यवस्थित भवन बनाइनेछ ।

व्यवस्थित वधशाला र कृषि मण्डी निर्माणका लागि केएम समता जेभी काठमाडौँले ठेक्का पाएको छ । ठेकेदार कम्पनीले ढिलोमा डेढ वर्षभित्र भवन हस्तान्तरण गरिसक्ने सम्झौता भइसकेको नगरपालिकाले जनाएको छ । जग्गा अभावमा बजार अव्यवस्थित भइरहेको बेला जग्गाको कारोबार गरिरहेको काफल इन्भेस्टमेन्टले १० कठ्ठा चार धुर जग्गा निःशूल्क उपलब्ध गराएपछि व्यवस्थित कृषि मण्डी बन्न मद्दत पुगेको हो ।

प्रमुख प्रशासकीय अधिकृत भूर्तेलका अनुसार १ करोड ३० लाख रुपैंयाँ प्रदेश सरकारले भवन निर्माणका लागि उपलब्ध गराउनेछ । बाँकी रकम नगरपालिकाले व्यहोर्ने उनले बताए । वधशालामा राँगा, संगुर, कुखुरा, खसीका लागि छुट्टा छुट्टै भवन बन्नेछन् भने कृषिजन्य उत्पादनका लागि पनि अलग्गै भवन निर्माण हुनेछ । यस्तै, करिब एक महिनादेखि व्यवस्थित बजारका लागि स्थानान्तरण गरिएको साप्ताहिक हाटका लागि पनि जग्गा खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको बताइएको छ । जग्गा प्राप्ति ऐन २०३४ अनुसार नगरले खरिद प्रक्रिया अघि बढाएको हो ।