इटहरी । दैविप्रकोपमा परेकालाई सुनसरीमा पीडितहरूले सात वर्षदेखि सहुलियतको काठ पाएका छैनन् । सरकारले पीडितहरूलाई राहत स्वरूप दिने भनेको काठ अहिलेसम्म नदिँदा थप पीडित बन्न पुगेका हुन् ।
सुनसरी पकलीकी सीता मगर चौधरीको घरमा तीन वर्ष अगाडि मध्यरातमा आगो लाग्यो । त्यही भएको छाप्रो पनि अागलागीका कारण खरानी भयाे । तीन वर्षदेखि घर बनाउन जिल्ला वन पैदावर आपूर्ती समितिमा निवेदन दिए पनि हालसम्म काठ नपाएको गुनासो गर्छिन् । निवेदन दिएका बेला चाँडै काठ पाउनुहुन्छ भन्ने आश्वासन तीन वर्ष बित्दा पनि नपाएको गुनासो उनको छ । तीन वर्षदेखि महिनामा कम्तीमा ३ पटक जिल्ला वन कार्यालय सुनसरीमा धाएको उनी बताउँछिन् ।
चौधरीले राहत वापत पाउने २५ क्युफिट काठ पाएकी छैनन् । उनी भन्छिन्, राहतकाे काठ पाउँछु भन्ने आशमा बसिरहेको छु । बर्खा लाग्यो यसपालि पनि पाउने अाशा मरिसक्याे ।, उनी जस्तै पीडित बनेका छन् सुनसरी हरिनगराका फाइम अन्सारी । फाइम जिल्ला वन पैदावार आपूर्ति समितिमा काठ लिन निवेदन दिए पनि हालसम्म काठ नपाएको बताए ।
सवै प्रक्रिया पूरा गरेर निवेदन दिएको भए पनि अहिलेसम्म उनले पनि राहतको काठ पाएका छैनन् । उनी काठ पाउने आशामा महिनामा चार पटक हरिनगराबाट इनरुवा आइरहेका छन् । जिल्ला वन पैदावर आपूर्ति समितिमा अहिले काठ माग गरिएका २३ सयभन्दा बढि निवेदन छन् । वन पैदावार आपूर्ति समितिका सदस्य तथा कोष तथा लेखा नियन्त्रण कार्यालय सुनसरीका प्रमुख बज्रमोहन कोइरालाले लामो समयदेखि वितरण बन्द भएको बताए । उनले चाँडै शुरु गर्ने बताए । उनले भने, पीडितलाई राहात दिन लागि प्रक्रिया अगाडि बढाएका छौ ।,
आपूर्ति समितिका अध्यक्ष तथा डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहले विविध कारण वितरण बन्द भएको काम शुरु हुने बताए । उनका अनुसार संवाद समूहको समन्वयमा काठ वितरण गर्ने निर्णय भएको बताए । दैवी प्रकोपमा परेकाहरूले घर बनाउन २५ क्युफिट काठ निःशुल्क पाउने छन् । जिल्ला वन कार्यालय सुनसरीका सहायक वन अधिकृत तथा आपूर्ति समितिका सदस्य सचिव राजेन्द्रप्रसाद यादवले २०७३ साल अगाडि एक हजार ३३ जनाले घरमा आगो लागेको भन्दै सबै प्रक्रिया पूरा गरेर निवेदन दिएका छन् । २०७३ सालपछि आगोलागीमा परेको भन्दै २ सय २४ र ६७ वटा निवेदन परेका छन् ।