बिर्तामोड । सहमति भएपनि बन्द भएका चिया बगान सञ्चालन गर्न श्रम, रोजगार तथा सामामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सम्बन्धित बगानमा आएर दवाव दिनु परेको छ । बैदेशिक रोजगारलाई नियमन गर्न नयाँ ऐन ल्याउने चटारोका बीच मन्त्री बिष्टले दुइदिन झापा र इलाममा बसेर बन्द रहेका बगान सञ्चालनमा ल्याएका हुन् ।
मन्त्रीको दवावपछि बन्द रहेको एउटा बगान शुक्रबारदेखि नै सञ्चालनमा आएको छ भने अर्काे बगान सोमबारदेखि सञ्चालनमा आउने भएको छ । दुबै बगान नेपाल चिया बिकास निगमको ब्यवस्थापनमा सञ्चालित छन् । मन्त्रीको दवावका कारण कार्यक्रममा उपस्थित निगम सञ्चालक सुवास संघाईले तत्काल नै कन्याम चिया बगान सञ्चालन गर्न भनेका थिए भने केही प्राविधिक समस्याका कारण इलाम नगरपालिकामा रहेको इलाम चिया बगान सोमबारदेखि सञ्चालन गर्ने आश्वासन दिएका थिए ।
बगान सञ्चालनमा आउने खुशीमा इलामका चिया बगान पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्टसँग चिया मजदुरले खुशी साटासाट गरेका थिए । झापाका मजदुरले भने लामो समयदेखि अकरिलो रहेको ज्याला बिवाद समाधान गरिदिएकोमा मन्त्रीलाई धन्यवाद दिएका थिए । लामो सकस पछि चिया उद्योगीले श्रम ऐनअनुसार पारिश्रमिक लागू गर्नेे सहमति गरेपछि मन्त्री बिष्टलाई धन्यवाद दिएका हुन् ।
विष्टले शुक्रबार र शनिबार इलाम र झापाका चिया उद्योगको अनुगमन गरेका छन् । उनले इलामको गोर्खा चिया कमान, कन्याम चिया कमान, इलाम चिया कमान र झापाको बर्ने चिया कमान, गिरी बन्धु चिया कमानको अनुगमन गरेका थिए ।