धरान । मुस्लिम समुदायको धरान–८ स्थित इस्लामिक कब्रिस्तान (चिहान घर) घेराबाराको प्रतिनिधिसभाका सांसद् जयकुमार राईले शुक्रबार निरीक्षण गरेका छन् ।

सांसद् राईले सांसद् विकास कोषबाट घेराबारा निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । घेराबारा निर्माण सम्पन्नसमेत भएको इस्लामिक कब्रिस्तान धार्मिक वन समूहका सचिव अफाक अहमदले जानकारी दिए । ३० लाख रुपैयाँको लागतमा घेराबारा निर्माण गरिएको हो । निरीक्षणपश्चात् उनले सन्तोषजनक कार्य भएको भन्दै प्रशंसा गरे । विभिन्न दाताहरूको सहयोगमा बाँकी रकम जुटाइएको अहमदले जानकारी दिए ।

उनका अनुसार ३० लाख रुपैयाँको लागतमा २ सय ५० मिटर लामो पर्खाल निर्माण सम्पन्न भएको छ । धार्मिक वन समूहले १ दशमलव ४२ हेक्टर वनको स्वामित्वमा रहेको छ । २०७३ सालमा सांसद् कृष्णकुमार राईले सभाषद्कोषबाट २ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । तात्कालीन अवस्थामा एक सय २५ मिटर लामो पर्खाल निर्माण गरिएको थियो ।