दमक/ झापाको दमकमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको हिमालय महालक्ष्मी चिया बगानका आन्दोलनरत मजुदर र बगान प्रशासनबीच सहमति भएको छ । सहमतिमा नेपाल सरकारले तोकेबमोजिमको पारिश्रमिक साथै सेवा सुविधा दिन बगान तयार भएको मजदुरहरूले जनाएका छन् ।
शुक्रबार मजदुर र बगान व्यवस्थापन पक्षबीच भएको छलफलमा सरकारले तोकेका हरेक सेवासुविधा दिन बगान तयार भएपछि आज (शनिबार) बाट मजदुर काममा फर्कन तयार भएको नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घका अध्यक्ष पदम विकले जानकारी दिए ।
श्रमिकका तर्फबाट तीनवटा ट्रेड युनियनहरू नेपाल चिया बगान श्रमिक सङ्घ, अखिल नेपाल चिया मजदुर सङ्घ र नेपाल कृषि तथा चिया बगान श्रमिक सङ्घ र कम्पनीका तर्फबाट बगानका वरिष्ठ नायव प्रबन्धक खगेन्द्र श्रेष्ठबीच सहमति पत्र तयार पारेर काममा फर्कन मजदुर तयार भएका हुन् ।
सम्झौतामा बगानले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा कार्यान्वयन गर्ने, २ सय ७८ प्रतिदिनको ज्याला वृद्धि गरी गत साउनदेखि सरकारले तोकेको न्यूनतम् ज्याला ३ सय ८५ रुपैयाँ प्रदान गर्नेलगायत ५ वटा बुँदामा सहमति भएपछि कामदार शनिबारबाट काममा फर्कन सहमत भएका हुन् ।
सहमति पत्रमा हस्ताक्षर गर्न विभिन्न सङ्गठनका अध्यक्षहरू दमक बाहिर रहेकोले शनिबार बिहानै हस्तक्षर गर्दै काममा फर्कने सहमति भएको नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष गोपाल खड्काले जानकारी गराए । बगानमा स्थायी र अस्थायी गरी ६ सय १६ जना श्रमिक कार्यरत छन् । श्रमिकहरू विगत ४१ दिनदेखि सरकारले तोकेको न्यूनतम् पारिश्रमिक साथै सेवासुविधाको माग गर्दै आन्दोलनरत थिए ।