बिर्तामोड । ३८ दिनदेखि आन्दोलित चिया मजदुरले मंगलबार अपराह्न झापाको बिर्तामोडस्थित मुक्तिचोकमा सडकमा सुतेर श्रम ऐन कार्यान्वयन गर्न दबाव दिएका छन् ।

अपराह्न १२ बजेदेखि १ बजेसम्म सडकमा सुतेर श्रम ऐन कार्यान्वयन गर्न दबाव दिएका हुन् । सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर जारी गरेको श्रम ऐन चिया उद्यमीले लागू नगरेको मजदुरको आरोप छ । मजदुर नेता भुपाल सापकोटाले सरकारले ल्याएको कानून कार्यान्वयनका लागि दबाव दिन यस्तो कार्यक्रम गरिएको बताए ।

उनले कानूनले तोकेको ज्याला पाउन यसरी संघर्ष गर्नु दुर्भाग्यपूर्ण रहेको बताए । झण्डै १ हजारको संख्यामा मजदुर सडकमा सुतेर दबाव दिएका हुन् । सरकारले गत वर्ष राजपत्रमा सूचना प्रकाशित गरेर मजदुरलाई दैनिक ३ सय ८५ रुपैयाँ ज्याला दिनुपर्ने ब्यवस्था गरेको थियो । अहिले उद्योगले मजदुरलाई २ सय ७८ रुपैयाँ दैनिक ज्याला दिँदै आएको छ । सोही ऐन कार्यान्वयन गर्नबाट उद्योगीहरू पछि हटेपछि देशभरका चिया उद्योग बन्द छन् ।

चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तलले आवरणमा ४ सय ३१ रुपैयाँ देखिए पनि ऐन कार्यान्वयन गर्दा ५ सय ५५ रुपैयाँ ज्याला पुग्ने बताए । देशभरका चिया उद्योगमा करिब ५० हजारको हाराहारीमा मजदुर कार्यरत छन् । सरकारले समन्वय नर्गदा विदेश निर्यात हुने एकमात्रै चियाका उद्योग पनि यतिखेर धरायसी हुने अवस्थामा पुगेको छ ।