धरान/ कवि विमला तुम्खेवाको नयाँ कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ माथि धरानका कवि, साहित्यकारले विमर्श गरेका छन् ।
 
शनिबार धरानको बुद्धचोकस्थित विमल स्मृति पुस्तकालयमा आयोजित पुस्तक विमर्श कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका अध्यापक डा. इन्दिरा मिश्र, उप–प्राध्यापक तथा कवि राजेश विद्रोही र कवि सन्तोष थेबेले तुम्खेवाका कवितामाथि चर्चा गरे । कवि चेवन राईले सहजीकरण गरेको पुस्तक विमर्श कार्यक्रममा कवि तुम्खेवा र वक्ताहरूले ‘झरी र तिमी’, ‘पालो’, ‘सच्याऊ यो इतिहास’, ‘नेपालको नक्सामा किनिमाको तिउन’, ‘खेल’ र ‘म भूतपूर्व गोर्खा सिपाही खड्कबहादुर लिम्बू’ शीर्षकका कविता वाचन गरियो ।
 
साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको सङ्ग्रहको देशव्यापी विमर्श गर्ने क्रममा चितवनपछि पूर्वमा पहिलो पटक धरान आइपुगेकी कवि तुम्खेवाले कविता लेख्नु कुनै मजाकको विषय नभएको कवि विमला तुम्खेवाले बताइन् । 
 
‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ भित्र नारी उत्पीडनका कुरा, गोर्खा सैनिकका वेदना, विदेशिएका युवाहरूको वेदना, राजनीतिक विसङ्गति, आदिवासीका आवाज, युद्ध र माया–प्रेमका भावहरू रहेको विमर्शका वक्ताहरूले बताए ।
 
उनीहरूले कविताहरू छोटा भए पनि सरल, मिठासपूर्ण रहेको बताए । कवि तुम्खेवाले यसपछि पूर्वका अन्य ठाउँमा पनि विमर्श कार्यक्रम हुने बताइन् ।