धरान । प्राचीन हरिद्वार सुनसरीको चतराधाममा अद्र्धकुम्भ मेला शनिबारदेखि शुरु भएको छ ।

मेलाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । उनले सुनसरीका धार्मिक पर्यटकीय क्षेत्रहरूलाई जोडेर धार्मिक सर्किट बनाउने दाबी गरे । त्यसका लागि प्रदेश सरकार लागि रहेको बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्ने तय भए पनि मौसम गडबडीका कारण उनको आउने कार्यक्रम स्थगित भएपछि मुख्यमन्त्री राईले उद्घाटन गरेका हुन् । कुम्भका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजनसमेत गरेको छ ।

प्रदेश सरकारले मेला व्यवस्थापनका लागि अस्थायी रूपमा सम्पर्क कार्यालय नै राखेको छ । जसको संयोजकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की रहेका छन् । २०५९ सालदेखि प्राचीन हरिद्वार चतरामा बालसन्त मोहनशरण देवाचार्यले कुम्भ मेला लगाउन थालेका हुन् । भारतमा मात्रै कुम्भ मेला लाग्दै आएको थियो । हरेक १२ वर्षमा महाकुम्भ लाग्छ भने प्रत्येक ६ वर्षमा लाग्ने मेलालाई अद्र्धकुम्भ मेलाको रूपमा चिनिन्छ ।

मेलामा कानुनमन्त्री कार्कीसहित पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियैत, संघीय सांसद् जयकुमार राईलगायत उच्च पदस्थ कर्मचारी, प्रहरी प्रशासन, नेपाली सेनासहित सहभागी भएका थिए । मेलामा १ करोड भक्तजनको उपस्थिति हुने दाबी बालसन्त मोहनशरण देवाचार्यले गरेका छन् । शुक्रबार पिण्डेश्वर मन्दिरबाट अद्र्धरुद्रभिषके तथा स्तोत्र पाठसहित कुम्भ घडा कलशयात्रा गर्दै कार्यक्रमको विधिवत शुरुवात गरिएको थियो ।