विराटनगर । मोरङको बेलाबारी – ४ की २८ वर्षिय रमिला राईको हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका तत्कालिन एमालेका नगर अध्यक्ष ४६ वर्षिय योगेन्द्र गुरुङले कुटपिट गरि होहल्ला गर्दा काखमा राखेर दुवै हातले मुख थुनेर हत्या गरेको खुलसा भएको छ ।

गुरुङले आफनै घरको भुइ तलाको बरण्डा कोठा भित्र काखमा राखि दुवै हातले करिब १० मिनेट नाक र मुख बन्द गर्दा रमिलाको ज्यान गएको अभियोग पत्रमा उल्लेखछ । ‘रमिला मधिराको नाशामा रहेकी थिइन् । ‘अपशब्द प्रयोग गर्दै गाली गर्न थालेपछि मैले मुख बन्द गरेका थिए,’ अभियोग पत्रमा योगेन्द्रले दिएको बयानमा भनिएको छ, ‘करिब १० मिनेटसम्म मुख बन्द गर्दा रमिला बोल्न छोडिन् ।

निधाइन होला भनेर रमिलालाई बरण्डाको खाटमा सुताएर म माथिल्लो तलामा नुहाउन गए । कपडा फेरेर रमिलालाई लिन आउँदा ज्यान गएको रहेछ ।’ राई र गुरुङको करिब ६ वर्षसम्म प्रेम सम्बन्ध रहेको थियो । समाजमा प्रतिष्ठित गहनिएका गुरुङलाई प्रेमिका राईले बिबाह गर्न दबाव दिएपछि हत्या गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ ।

यसरी भएको थियो हत्या
गत फागुन १७ गते साँझ रमाइलो गर्ने भन्दै योगेन्द्र रमिलासँगै थप दुई जना साथी लिएर रेस्टुरा जाने भए । योगेन्द्रले प्रयोग गरिरहेको बा.१५ च. ७९१६ नम्बरको आइट्वेन्टी कार लिएर उनीहरू विराटचौकतर्फ हान्निए । बेलबारी बजारबाट करिब ५ किलोमिटर पश्चिम विराटचौकमा छ– हवाना रेस्टुरेन्ट । उनीहरू साझदेखि रेस्टुरामा मदिराको चुस्कीसँगै नाचगान गर्दै रमाइलो गर्न थाल्छन् अनि १०ः५२ मा रेस्टुराँबाट निस्किएर बेलबारीतर्फ लाग्छन् ।

सँगै गएका जलिना राई र विक्रम राईलाई गन्तव्यमा पुर्याएपछि योगेन्द्र रमिलालाई लिएर आफ्नो घर पुग्छन्, रातको ११ः३० मा । रमिला मदिराको नशामा थिए । योगेन्द्रको घर पुगेलगत्तै रमिलाले होहल्ला गरिन्, विवाह गर्नुपर्छ भन्दै । मध्यरातमा छिमेकीहरूले उनको होहल्ला सुन्ने भयले योगेन्द्रले रमिलाको मुख बन्द गरी कोठाको भित्तामा धकेले । परिणाम स्वरूप उनको निधार र टाउँकोमा गहिरो चोट लाग्यो । रमिला त्यही ढलिन ।

त्यसपछि योगेन्द्रले रमिलाको घाँटी र मुख बन्द गरे । रमिलालाई स्वास फेर्न गाह्रो भयो, उनले प्रतिकार गर्न खोजिन् तर सकिनन् । योगेन्द्रले दरिलो तरिकाले मुखमा हात राखेर अठ्याए । रमिलाको प्राण त्यहीं गयो ।

शव कोसी ब्यारेजको २९ नम्बर ढोकाबाट मिल्काए रमिलाको शव हत्या भएको ३६ दिनपछि चैत १३ गते सप्तकोशीबाट शव फेला परेको हो ।

प्रेमीकाको हत्या गर्ने गुरुङ जेल चलान
 रमिला राईको कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका तत्कालिन एमालेका नगर अध्यक्ष योगेन्द्र गुरुङ जेल चलान भएका छन् । जिल्ला अदालत मोरङको श्रेस्तेदार इश्वरमणी ओझाको इजालशले शुक्रबार गुरुङलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् ।

अदालतको मुलुकी फैजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६७ बमोजिम पूर्पक्षको लागि थुनामा राख्न दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएको छ । आदालतको आदेशपछि गुरुङ शुक्रबारनै विराटनगरस्थित जिल्ला कारागार मोरङ चलान भएका छन् ।

न्यायाधीशको अनउपस्थीतिमा श्रेस्तेदार ओझाले थुनछेकको आदेश दिएका हुन् । उक्त आदेशमा जिल्ला न्ययाधीश आएपछि आदालतको नियमावली, २०७५ को नियम १०(४) बमोजिम पुनर्विचारको लागि इजालसमा पेश गरिनेछ ।

इलका प्रहरी कार्यालय बेलबारीले मोरङ प्रहरीको इरासतमा रहेका गुरुङसँग २३ दिनसम्म अनुसन्धान पूरा गरेपछि जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा मिसिल मंगलबार बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अदालतमा शुक्रबार गुरुङलाई ‘कर्तब्य ज्यान’ मा मुद्दा दर्ता भएको मोरङ अदालतले जनाएको छ । गुरुङको सोही दिन बयान सकिएपछि थुनछेकको आदेश आएको हो ।