विराटनगर /देह व्यवसायको प्रसंग आउने वितिकै नेपाली चेली बेचिने गरिएको भारतको दिल्ली, मुम्बई र कोलकाता भनेर बुझ्छौं । तर रोजगारको प्रलोभनमा देशभित्रै नारीको बेचबिखन हुन्छ । मोलामोलाई हुन्छ । विराटनगर महानगरमा रेष्टुरेन्टभित्र हुने यस्तै यौन धन्दाको खुलासा भएको छ । जसका मुख्य अभियूक्तहरु कानूनको फन्दामा परिसकेका छन् ।

यसरी सुरु हुन्छ, चेलीबेटी शोषणको कथा
विराटनगर– ९ रोडशेष चौकमा जस्तापाताको छानाले वरिपरि बारेर बनाएको काठको ढोका । जहाँ माथि लेखिएको छ ‘टिफीन रेष्टुरेन्ट’ । झण्ट नाम हेर्दा सहज रुपमा अनुमान लगाउन सकिन्छ यहाँ खाजाको परिकार पाइला । तर, यो रेष्टुरेन्टमा तपाई, हामीले अनुमान गरेको भन्दा फरक रहेछ । रेष्टुरेन्ट संचालिकाले एक महिना देखि दुई जना बालिका र एक किशोरीलाई डर, त्रास देखाएर कुटपिट गर्दै यौन शोषणमा लगाउने गरेको खुलेको छ ।
रेष्टुरेन्ट संचालिका प्रिया भनिने पूर्णिमा श्रेष्ठ र सोही रेष्टुरेन्टमा काम गर्ने कल्पना भनिने टिका चौधरीलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । श्रेष्ठले होटलमा आएका ग्राहकसँग मोटो रकम लिएर रेष्टुरेन्टको ‘क्याबिनमा’ बालवालिकाहरूलाई यौन शोषणमा लगाउने गरेको मोरङ प्रहरीले अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेख छ ।

१३ बर्षे बालिकालाई यौनधन्दामा प्रयोग
रेष्टुरेन्टमा काम गर्ने टिकाले संचालिका प्रियाले घरमा नानी हेर्ने काम लगाउने बहानमा १३ वर्षका वालिकालाई माघ १० गते विराटनगर घरमा ल्याएकी थिइन् । प्रियाको पाँच वर्षको छोरी हेरचार गरेपछि ती वालिकालाई तीन दिनपछि रेष्टुरेन्टमा काम गर्न लगिन् । माघ १५ देखि फागुन १२ गतेसम्म होटल संचालिका श्रेष्ठ, काम गर्ने चौधरी खलिफा मियाँले डर, त्रास र कुटपिट गर्दै यौन शोषणमा लगाउने गरेको अभियोग पत्रमा भनिएको छ । प्रत्येक दिनमा एक पटक होटलमा आएका ग्राहकसँग यौन शोषणमा लगाउने गरेका थिए । उनीहरूले भनेको अनुसार काम नगरे कुटपिट गर्ने गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख छ । संचालिका श्रेष्ठले होटलमा आएका ग्राहकसँग ३ हजारदेखि १० हजार रुपैयाँसम्म लिने गरेकी थिइन् ।

यसरी भागिन ती बालिका
डर, त्रास देखाएर एक महिनादेखि यौन शोषणमा परेकी दुई जना बालिका र एक किशोरी होटल संचालिका बजार गएको मौका पारि त्यहाँबाट उम्किएका थिए । विराटनगरको कन्चनबारीमा रहेको एक होटलमा पुगे । होटलको संचालकलाई उनीहरूले पाएको पीडा र दुःख सुनाएपछि उनीहरू मोरङ प्रहरीको सम्पर्कमा पुगे । नारी विकास संघले दिएको जाहेरीको आधारमा रेष्टुरेन्ट संचालिका श्रेष्ठ र चौधरी फागुन २७ गते विराटनगरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यौन शोषणमा लगाउने थुनामा
रेष्टुरेन्टको आवरणमा डर, त्रास देखाएर बालिका र किशोरीलाई जवरजस्ती अबैध रुपमा यौनधन्दामा लगाउने रेष्टुरेन्ट संचालिकासहित दुई जनालाई पुर्पक्षको लागि जेल चलान भएका छन् ।
श्रेष्ठ र सोही रेष्टुरेन्टमा काम चौधरी पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको हो । जिल्ला अदालत विराटनगरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजालसले उनीहरूलाई पुर्पक्षको लागि थनुामा राख्न बिहीबार आदेश दिएका थिए । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यलयमार्फत मंगलबार तीन जनालाई प्रतिवादी बनाएर अदालतमा मानव बेचबिखन तथा ओसार पसार, जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको थिए ।

दुई जना फरार
रेष्टुरेन्टमा काम गर्ने बालिकालाई जर्वजस्तरी करणी गर्ने विराटनगर ४ दुधफारम आयल निगमका २८ वर्षिय संजय श्रेष्ठ र यौन शोषणमा लगाउने खलिफा मियाँ फरार छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत संजयलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । मियाँको ठेगना र वाबुको नाम खुलेको छैन् ।