धरान / बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरमा एसईई परीक्षा दिने विद्यार्थी र प्रहरीबीच झडप हुदा प्रहरी र विद्यार्थीहरु घाइते भएका छन् ।
विद्यार्थीहरुले सवारी साधनमा आगजनी र तोडफोड गरेका थिए । सो अवरोध हटाउन खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको थियो । घट्नामा प्रहरी जवान निरु श्रेष्ठ घाइृते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विद्यार्थीहरुले प्रहरीको गाडी ना १ झ ७१२ आगजनी गरेका छन् ।
परीक्षा स्थगित भएको विरोधमा विद्यार्थीले वीरगञ्ज पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गनुृ परेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीलाई नियन्त्रणमा लिएको थियो ।
सप्तरीमा शिक्षा समन्वय समितिको कार्यालयमा तोडफोड
एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएका कारण विज्ञान र समाजिक विषयको परीक्षा रद्द गरिएपछि आक्रोशित विद्यार्थीहरुले सप्तरीको राजविराजमा शुक्रवार साँझ तोडफोड गरेका छन् ।
आजको परीक्षा रद्द भएसँगै आक्रोशित परीक्षार्थीहरुले शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा तोडफोड गरेका हुन् । उनीहरुले ढुङ्गामुढा गरेर कार्यालयको सिसाहरु फुटेका छन् । यसैगरी ना १ झ ७८२ नम्वरको प्रहरीको गाडीमा समेत तोडफोड गरेकाे प्रहरीले जनाएकाे छ ।
आक्रोशित परीक्षार्थीहरुका कारण सदरमुकाम राजविराज तनावग्रस्त बनेको थियो । सोही क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रदेश २ मा यसअघि अनिवार्य विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ । प्रदेशमा दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी परीक्षामा सम्मिलित छन् ।