धरान/ माध्यामिक शिक्षा परीक्षा (एसईई) मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि सङ्घीय सरकारले प्रदेश २ को अन्य परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।
अन्य विषयका प्रश्नपत्र पनि बाहिरिएको हुन सक्ने आशङ्का गर्दै सरकारले प्रदेश २ का अन्य विषय रद्द गर्ने निर्णय गरेको हो । यो निर्णय सरकारले शुक्रबार लिएको हो । अन्य प्रदेशमा भने परीक्षा जारी रहने सरकार अन्तर्गतको शिक्षा मन्त्रालयले जनाएको छ ।
बिहीबार विज्ञान विषयको परीक्षा हुनुभन्दा केही समयअघि नै प्रश्नपत्र बाहिरिएको थियो । शुक्रबार सामाजिक विषयको पनि प्रश्नपत्र बाहिरिएको छ । शिक्षा मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थगित भएका परीक्षालाई यसै महिनाभित्र तालिका प्रकाशित गरेर परीषाको मिति तोकिने जनाए ।
उनका अनुसार बिहीबार रद्द भई २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने सोही दिन हुने छ । अन्य परीक्षा भने अर्को मिति तय नभइञ्जेलसम्मका लागि रोकिने भएको छ । प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ जना परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएका छन् । प्रश्नपत्र बाहिरिएको विषयमा सिआइबीको टोलीले छानबिन गर्ने भएको छ । र, प्रश्नपत्र बाहिर ल्याउनेलाई कारबाही गर्नेसमेत जनाएको छ ।