विराटनगर / मोरङको सुन्दरहरैचा नगरपालिकास्थित करिब ६ वर्षदेखि अड्डा जमाएर बसेका सव डिभिजन कार्यालय लाटीझोडाका प्रमुख सलाउदिन अन्सारी ३५ हजार घुससहित रंगेहात पक्राउ परे ।
इटहरीबाट पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले शुक्रबार दिउँसो सब डिभिजन प्रमुख अन्सारीलाई विराटनगरस्थित डिभिजन वन कार्यालय मोरङको परिसर भित्रबाट रंगेहात पक्राउ गरेको हो । घुस रकम लिन सुन्दरहरैचनादेखि विराटनगरमा आएर लिएपछि उनी पक्राउ परेका हुन् ।
सब डिभिजन प्रमुख अन्सारीले मोरङको केराबारी गाउँपालिका र सुन्दरहरैचा नगरपालिका भित्र पर्ने १७ वटा सामुदायिक वन र एक वटा साझेदारी वन हर्ने जिम्मेवारी पाएका थिए । उनले लाटीझोडा साझेदारी वन पनि हेर्दै आएका छन् । अन्सारीले सामुदायिक वनको रुख कटान गर्ने अनुमति सिफारिस पत्र बनाइदिनको लागि समितिसँग बारम्बार रुपमा घुस माग्ने गरेका उजुरी इटहरीस्थित अख्यितारको कार्यालयमा पुगेको थियो ।
घुस रकम नदिए पछि काम नगर्ने बानि परेका सब डिभिजन प्रमुख अन्सारीे बाध्य बनाएर समितिका पदाधिकारी र उपभोक्ताहरूले घुस रकम लिने गरेको उजुरी यस अघि पनि अख्तियारमा परेको बताइएको छ । सामुदायिका वनको समिति र उपभोक्तासँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका डिएसपी डिल्लीनारयण पाण्डे नेतृत्वको टोलीले सब डिभिजन प्रमुख अन्सारीलाई घुस सहित रंगेहात नियन्त्रणमा लिएको हो ।
अन्सारीले केराबारी गाउँपालिकामा पर्ने दिपज्योती सामुदायिक वनको समितिसँग ३५ हजार रुपैयाँ घुस लिने क्रममा पक्राउ परेको अख्यितारले जनाएको छ । घुससहित पक्राउ परेका अन्सारी इटहरीस्थित अख्यितार दुरुपयोग अनुसन्धान कार्यालयमा राखिएको छ । सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शनिबार विराटनगर विमानस्थलबाट हवाइमार्ग हुँदै अन्सारीलाई काठमाण्डौ लैजाने तयारी अख्यितारले गरेको छ । शनिबार विदा भएकोले उनलाई आइतबार विशेष अदालत काठमाण्डौमा भ्रष्टचार मुद्दामा म्याद थप गर्नेे अख्यितार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले कर्मचारीबाट गर्ने नहुने काम भएको बताए । ‘कर्मचारीबाट नहुने काम भएको देखियो,’ उनले भने, ‘यस विषयमा अख्तियारले कानुन अनुसार प्रक्रिया अगाडी बढाउला ।’
को हुन रंगेहात घुससहित पक्राउ पर्ने अन्सारी ?
मोरङको २ वटा स्थानिय तहमा पर्नेे १७ वटा सामुदायिक वन र एक वटा साझेदारी वन हेर्ने जिम्मवारी पाएका सब डिभिजन प्रमुख हुन सलाउदिन अन्सारी । उनले सुन्दरहरैचा नपा र केराबारी गपामा रहेका सामुदायिक वन हेर्ने डिभिजन वन कार्यालय मोरङले जिम्मेवारी दिएको थियो । मन्त्रलायमा सहज रुपमा पहुच बनाएका कारणले गर्दा विगत ६ वर्षदेखि सुन्दर हरैचना नगरपालिकामा रहेको सव डिभिजन कार्यालय लाटीझोडाको प्रमुख भए । अवैध तरीकाले वनबाट राम्रो पैसाँ असुली गर्ने भएकोले ६ वर्षसम्म कतै सरुवा नभइ उनले अड्डा जमाएर बसेका थिए । सप्तरी घर भएका अन्सारी विवादमा पर्दै आएका कर्मचारी हुन् । सामुदायिक वन उपभोक्ता समूहको काम नगरेर हैरान पारेका यहाँका स्थानियले बारम्बार गनुसो गर्दै आएका थिए । अन्सारी लाटीझोडा साझेदारी वन समूहको सदस्य सचिव पनि हुन् । मोरङमा २०७१ सालदेखि वैज्ञानिक वन व्यवस्थापन सुरु भएको हो । मोरङका २४ वटा सामुदायिक र ४ वटा साझेदारी वनमा अहिले वैज्ञान वन व्यवस्थापन सुरु छ । अन्सारीले हेर्ने जिम्मेवारी पाएको १७ वटा सामुदायिक मध्धे करिब १० वटामा वैज्ञानिक वन व्यवस्थापन लागू छ । वैज्ञानिक वनको अवलोकन, अन्तक्रिया जस्ता कार्यक्रमको नाममा पनि अन्सारीले आर्थिक हिनिमिना गरेको आरोप छ ।
अन्सारी स्वत निलम्बन
सब डिभिजन प्रमुख सलाउदिन अन्सारीलाई अख्यातर दुरुपयोग अनुसन्धान आयोगले रंगेहात रुपमा ३५ हजार रुपैयाँ घुसहित पक्राउ परेको निलम्बसनमा पर्ने भएको छन् । अख्यातरले भष्टचार मुद्दामा आइतबार म्यात थप गरेसँगै अन्सारी स्वत निलम्बनमा पर्ने भएका हुन् ।