काँकडभिट्टा   उपचारका क्रममा चिकित्सकको कमजोरीले बालकको मृत्यु भएको विषयलाई लिएर बन्द रहेको धुलाबारीको मेची आम्दा अस्पतालले बिहीबारदेखि सेवा संञ्चालन गरेको छ ।

मेचीनगर–९ का १० वर्षीय गोपाल रिजालको गत सोमबार बिहान उपचारको क्रममा मृत्यु भएपछि परिवार तथा स्थानीयले अस्पतालमा नाराबाजी गरे पछि अस्पताल बन्द भएको थियो ।

उनीहरुले उपचारमा संलग्न चिकित्सकको कमजोरीले बालकको ज्यान गएको दाबी गर्दै आएका छन । घटनाको सत्यतथ्य पत्ता लगाएर सार्वजनिक गर्न सर्वपक्षीय समिति बनाएपछि आन्दोलन रोकिएको थियो ।
छानविन समितिको तत्काल बैठक बसेर उपचारमा संलग्न डा. युवराज रोयलाई निलम्बन गरिसकिएको छानबिन समितिका संयोजक ऋषिराज तिम्सिनाले बताए ।

पीडित परिवारलाई किरिया खर्च वापत ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भए पछि अस्पताल सुचारु भएको हो ।

छानविन समितिका संयोजक ऋषिराज तिम्सिनाका अनुसार मृतकका परिवारलाई किरिया खर्च वापतको रकम उपलब्ध गराउन मेचीनगर नगरपालिकालाई निर्णय पत्र बुझाइएको बताए ।

समितिले थप राहत रकम उपलब्ध गराउन पनि पहल गर्ने काम गरिरहेको बताए ।
मृतकका परिवारले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारवाही हुनुपर्ने दावी गरिरहेका छन । मृतक बालकका बुवा नकुल रिजालले राहत रकम भन्दा पनि आफूहरुले न्याय चाहिएको बताए ।

चिकित्सकको लापरवाहीले बालकको मृत्यु, अस्पताल घेराउ