पथरीशनिश्चरे / पाँर्च दिन अगाडी सिका बार नजिकैको सडकमा मृत भेटिएका मोरङको पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको रहस्यमय मृत्यु प्रकरणको वास्तविकता खुल्न नसकी रहस्यपूर्ण बनेको छ । अवस्था जारी छ ।

प्रहरीको फितलो अनुसन्धानले सत्यतथ्य बाहिर नआएको पिडीत पक्षको आरोप छ । प्रहरीले भनें अनुसन्धानमा खटेर दैनिक समय खर्चिरहे पनि तथ्य यकिन हुन नसकेको बताउँदै आएको छ । प्रहरीलाई टाउको दुखाईको विषय बनेको ५ दिन अघिको घटनाको सत्थतथ्य बाहिर ल्याउन दवाव स्वरुप पिडीत परिवारले अझै शवको दाहसंस्कार गरेका छैनन् । सोमवार पनि पिडीत पक्ष प्रहरी कार्यालयमा पुगेर सत्यतथ्य चाँडै बाहिर ल्याउनुपर्ने दवाव दिइरहेका थिए ।

यता, प्रहरीले तामाङको पोष्टमार्टमका लागि उर्लावारीस्थित मंगलबारे अस्पतालमा शुक्रवार लगेको शव परिवारले फिर्ता ल्याएर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका छन् । धरानमा पालो पर्खिदै गर्दा आइतवार दिउँसोमात्र शवको पोष्टमार्टम भएको छ । पुनः उनीहरुले शवलाई मंगलबारे अस्पतालमै राखेका छन् । ‘यहाँ कसैको दवाव पर्ला र सत्थतथ्य लुक्ला भन्ने लागेर पोष्टमार्टमका लागि धरान लगियो ।’– पिडीतकी श्रीमती मनिताले भनिन् । उनले प्रहरीको अनुसन्धान फितलो भएको भन्दै थपिन् ‘उसँग बारमा जानेपनि गाउँकै र बार पनि आफ्नै ठाउँको भएर सत्थतथ्य बाहिर आउन अलमल भएको हामीलाई लागेको छ । घटनाको सत्थतथ्य चाँडै बाहिर आओस्, दोषीमाथि कारवाही होस् ।’ आफुहरुले दैनिकजसो इलाका प्रहरी कार्यालय पथरीमा यही माग जारी राख्दै प्रहरी कार्यालय धाइरहेको सुनाइन् ।

कसरी भयो घट्ना
तामाङ आफ्ना ५ जना साथीसहित फागुन १६ गते राती वडा नम्वर १ स्थित पथरी बजारमा रहेको एक व्यापारिक भवनको सिक्का वार एण्ड लञ्जमा पुगेका थिए । पाँचौं तलामा रहेको बारमा मादक पदार्थ सेवन गरेको सो समूहसँग दमकको समूहका एकजनासँग सामान्य विवाद भएको थियो । सो विवाद समझदारीमा मिलेपछि पुनः त्यहाँ हल्लाखल्ला भएको थाहा पाएर प्रहरी बारमा पुगेको थियो । सो विवाद प्रहरीले मिलाउँदै आ आफ्नो घर जान निर्देशन गरेर फर्किए पछि त्यस खालको घटना भएको जानकारी आएको पथरी प्रहरी प्रमुख कमल बजगाईंले जनाएका छन् ।
‘त्यसपछि हामीले सो घटनालाई सवैभन्दा बढी महत्व दिएर दैनिक अनुसन्धान प्रक्रिया अघि बढाइरहेका छौं ।’– उनले भने ‘कतिपय घटना अनुसन्धानबाट तत्कालै नतिजा निस्किन नसक्ने खालको हुन्छ । यो घटना त्यस्तै भइरहेको छ ।’ बार मुनीको तलाबाट उ आफैं लडेको वा कसैले त्यहाँबाट हुत्याएको वा सडकमा कसैले हिर्काएर मारेको भन्ने सो घटनाको ३ प्रकारको अड्कलबाजी रहेको छ । तिनवटै आशंकामाथि देख्ने मानिस र प्रमाण जुटिनसकेकाले घटनाबाट विभिन्न खाले अडकलबाजी हुँदा प्रहरीलाई पनि टाउको दुखाईको विषय बनेको उनले सुनाए । उनले बार रहेको भन्दा १ तलामुनी ओर्लिएर खुला अवस्थाको फ्लोरतर्फ तामाङ लागेको र फर्किएर नआएको सीसी क्यामेराको फुटेजले देखाएको प्रहरीले बताएको छ ।
सो फुटेज चासो राख्ने सम्वन्धित पक्षका र समाजका अगुवाहरुले पनि हेरेका छन् । त्यस फुटेजले तलामाथि नै कुनै तनाव भएको वा मातेको अवस्थाका उनी आफैं होचो अवस्थाको पर्खालबाट लड्न पुगे भन्ने अड्कल गरिएको छ । तर पीडीत पक्ष भनें त्यो कुरा स्वीकार्न तयार छैन । चौथो तलामाथिबाट पछारिएको हो भनें घोप्टो परेको अवस्थामा सडकमा भेटिएको शवको अनुहारमा चोट देखिनु पर्ने मृतककी भाइ बुहारी आरजु तामाङको तर्क छ । त्यसमा कस्लाई किटान गरेर जाहेरी दिने भन्नेमा पनि पिडीत पक्षलाई सहज भएको छैन । किटानी नै गर्न नसके पनि घटना रहस्यमय बनेकोप्रति सवैको चासो बढको देखिन्छ ।

नजिकै रहेको कावेली अस्पतालमा विरामी हेर्न आएका षडराजलाई छिमेकी बलबहादुर तामाङ सहितले बोलाए पछि ६ जनाको समूह सो बारमा पुगेको थियो । छिमेकी तेजकुमार तामाङ, किसन राईसहितको समूह राती साढे १० बजेको समयमा तल ओर्लिएको सीसी क्यामेराले देखाउँछ । ‘साथीहरुलाई लिएर म पनि तल ओर्लिदै थिएँ, षडराज पनि ओर्लिएको थियो । तल गएर हेरें तर उ तल पुगेको रहेनछ । फेरी माथि आएर हेर्दा पनि देखिन र तलै गएर पर्खिबसें ।’ साथी तेजकुमारले घटना विवरण सुनाए ‘भरे एउटा बाइकको लाइटको फक्सले पो षडराज बाटोमा लडिरहेको देखियो ।’

रगताम्य अवस्थामा घोटो परेको भेटिएका षडराजलाई नजिकको पथरी अस्पताल हुँदै राती नै प्रहरीले मंगलबारे अस्पताल पुर्याएको थियो । नाकबाट रगत आएको र टाउकोमा केही चोट देखिएका उनको तत्कालै मृत्यु भएको अवस्था जानकारी पाए पछि प्रहरीले बारमा सँगैगएको समूहका ५ जनालाई सोधपुछका लागि २४ घण्टा थुनामा राख्यो । भोलीपल्ट बारका सञ्चालकमध्येका ५ जनालाई समेत २४ घण्टा थुनामा राखेर अनुसन्धान गरे पनि सत्थतथ्य खुल्न नसकेको भन्दै प्रहरीले दुवैतर्फकालाई दैनिक निगरानीमा राखेको छ । उनीहरुलाई विहान प्रहरी कार्यालयमा हाजिर गराउने र बेलुका आफन्त तथा समाजका अगुवाको रोहबरमा जिम्मा लगाउने क्रम भइरहेको छ ।