‘दौड एक प्रकारको उपचार पद्धति हो । त्यसैले मानिसहरू स्वस्थ रहनका लागि दौडिन्छन् । दौडले मानिसको दैनिक जीवनलाई सकारात्मक प्रभाव पारेको हुन्छ ।
‘यही कुरालाई आत्मसात गर्दै बेलायतमा हुने ‘पार्क रन’ को अवधारणालाई धरानस्थित यलम्बर पार्कमा विगत ७ वर्षदेखि धरान रनले स्वस्थ रहन जनचेतना दिँदै दौडलाई निरन्तरता दिइरहेको छ । बेलायतमा प्रत्येक साताको शनिबार पार्क रन हुन्छ । लण्डनबासीहरू आफू निरोगी तथा स्वस्थ रहन आइतबार सामूहिकरूपमा पार्क रन कार्यक्रममा दौडने गर्छन् ।
पार्क रनमा निरन्तर दौडनेमा धरानका युवा सन्तोष राई पनि पर्छन् । उनी बेलायतमा छँदै धरानमा रहेका अधिकांश परिवारजन, नातेदार र छिमेकीहरू मधुमेह, उच्चरक्तचापलगायत रोगहरूबाट पीडित भएको सुने । उनलाई लाग्यो, पार्क रनजस्तै दौडने कार्यक्रम धरानमा पनि आवश्यक छ । रोग लागेर उपचारमा भौंतारिनुभन्दा त लाग्नै नदिनु बेस । उनी केहीदिनको बिदा लिएर धरान आए । आफ्ना केही साथीभाइको सहयोगमा सन् २०११ सेप्टेम्बर ७ बाट ‘धरान रन’ प्रारम्भ गरे । धरान–८ स्थित यलम्बर सामुदायिक पार्कबाट दौडन शुरु भएर तीनकुनेस्थित श्रीजङ्गाको सालिक परिक्रमा गर्दै पुनः पार्कमा आएर टुङ्गिने कार्यक्रम बन्यो ।
३ दशमलव ५ किलोमिटर दूरी दौडने पहिलो साता २७ जना मात्र थिए । सीमित सङ्ख्याबाट शुरु भएको धरान रनमा हिजोआज प्रत्येक साता ५ सय बढी सङ्ख्यामा दौडन्छन् । यही साता ४ सय हप्ता दौड भइसकेको छ भने १२ हजार सदस्य भइसकेका छन् । प्रत्येक साता कम्तीमा पनि ३ देखि ४ सयको हाराहारीमा दौडन्छन् । दौडमा केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबै उमेर समूहका हुन्छन् । बिहान ठीक ७ बजे दौड सुरु हुन्छ । झरी, पुष, माघको जाडो, दशैंतिहार कुनै पनि दिन यो दौड रोकिएको छैन । भाइटीकाको दिनमा पनि युवाहरू दौडिएको कीर्तिमान बनेको छ । धरान रनकै पहल र उत्प्रेरणाले झापाको दमकमा ‘दमक रन’, भोजपुरमा ‘भोजपुर रन’ र पोखरामा ‘बि १३ रन’ पनि शुरु भइसकेको छ ।
यही धरान रन समूहको आयोजनामा वार्षिकरूपमा नेपालकै धेरै धावक धाविका सहभागी हुने बृहत् च्यारिटी रन गरिन्छ । संस्थापक सन्तोष राईकी सुपुत्री नेवा राई को जब हाइड्रोक्याफल्स अर्थात् टाउकोमा पानी जम्ने रोग लागेपछि छोरीको नामबाट स्थापित ‘नेवा च्यारेटी रन’ नामकरण गरी प्रत्येक वर्ष ‘आरती स्ट्रीप्स धरान रन १० के नेवा च्यारिटी रन आयोजना गरिन्छ । सन्तोष राई आफै पनि अन्तर्राष्ट्रिय म्याराथुन धावक रही, लण्डन म्याराथुन, बोस्टन म्याराथुन, म्युनिख म्याराथुन र न्युयोर्क म्याराथुनको सफल दौड गरिसकेका छन् ।
धरान रनका सम्बन्धमा उनी भन्छन्, ‘प्रत्येक वर्ष च्यारिटी रनबाट उठेको रकम स्वास्थ्य अनि शिक्षामा खर्चिंदै आएका छौं र यसपालिको ‘आरती स्ट्रीप्स धरान १० के रन सातौं नेवा च्यारिटी रनमा ५ हजार धावक–धाविका उतार्ने तयारीमा छौं । आरती स्ट्रीप्स सातौं धरान रनको उद्देश्य समाजलाई सुन्दर, स्वच्छ र स्वास्थ्य बनाउनु हो ।’ ‘स्वस्थ शरीर र स्वच्छ धरान’ को नारा दिएर ७ वर्षअघि प्रारम्भ भएको धरान रन कार्यक्रम अहिले समाजसेवामा एउटा बृहत् अभियान भइसकेको छ । समाजसेवा गर्न केवल अठोट, इमान्दारी र सोच ।
जुन धरान रनले सबैको अघि नमूना बनेर देखाइरहेको छ । ‘धरान रन शरीरमा रोग लाग्नै नदिन दौडनु पर्छ भन्ने जनचेतनामुखी अभियान हो, तर हामी दौड कार्यक्रममा मात्र सीमित छैनौं’ धरान रनका अध्यक्ष रमु राई भन्छन्, ‘दौडको माध्यमबाट नै असहाय, अशक्त, निम्न आर्थिक अवस्था भएका र अघिल्लो वर्षबाट गरिब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिई सहयोग पनि गरिरहेका छौं ।’ धरान रनले दुवै हात र खुट्टा नभएका भोजुपरका बालक सञ्जीव राईलाई २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएको छ । ६ वर्षयता वर्षेनी धरान रन–नेवा च्यारिटी रन आयोजना गरिरहेको छ ।
पछिल्लो पटक छैठौं संस्करणमा दुई हजार पाँच सयभन्दा बढीले यो दौड प्रतियोगितामा भाग लिएका थिए । आयोजक सहभागी सङ्ख्याले सम्भवतः यो नेपालकै ठूलो दौड हो । यो दौड प्रतियोगिताका सहभागीबाट लिइने दर्ता शुल्कबाट खर्च कटाएर बचेको रकम वर्षेनी सेवामा खर्च भइरहेको छ । यसपटक आगामी फाल्गुन २५ गते आरती स्ट्रीप्स धरान १० किमी रनको तयारी शुरु भइसकेको छ । यो वर्ष ५ हजारलाई दौडाउने लक्ष्य छ । प्रथम संस्करणबाट सङ्कलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ धरान रनले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएको थियो ।
यस कोषमा किरात राई यायोक्खा सुनसरीले रकम थप गरेर ४ लाख पुर्याइदिएको छ । यस्तै दोस्रो संस्करणबाट बचेको रकमले सङ्क्रमित दुव्र्यसनी महिलाहरूको निम्ति दृष्टि नेपाल संस्थाको ह्यापी होमका लागि एक लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो । तेस्रो संस्करणबाट धरान पोजेटिभ समूहमा रहेका सङ्क्रमित बालबालिकाको शिक्षाका लागि धरान रनले २ लाख ५० हजार प्रदान ग¥यो । चौथो संस्करणबाट एकल महिला समूहको छहारी निर्माण, मुटु रोगी मिठु कट्वाल, मिर्गौला रोगी प्रमिला विक, क्यान्सर पीडित बालक नवीन विक, अशक्त टेकबहादुर तामाङलाई गरी कुल दुई लाख सहयोग गरेको थियो । पाँचौं र छैठाैं संस्करणमा उठेको ६ लाखबाट धरान रनले ‘नेवा च्यारिटी एजुकेसन फण्ड’ स्थापना गरिएको अध्यक्ष रमु राईले बताए ।
बालबालिकाहरू खर्च अभावले गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेवा च्यारिटी एजुकेसन फण्ड बनाएका छौं, वर्षेनी १० किमी रनको मुनाफा यही फण्डमा जम्मा गरेर वृद्धि गर्दै लैजान्छौं ।’ हाल यस अक्षयकोषबाट सामुदायिक विद्यालयका १७ जना विद्यार्थीले छात्रवृत्ति सहयोग पाइरहेका छन् । उनीहरूको भर्ना एवम् वार्षिक शुल्क, शैक्षिक सामग्री, पोसाकलगायत सबै खर्च फण्डले उपलब्ध गराइरहेको छ । धरान रनको महत्वपूर्ण अर्को पाटो भनेको यसमा सबै युवा नेतृत्व छ । सामाजिक गतिविधिहरूमा युवाहरूलाई आकर्षित पनि गरिरहेको छ ।
कुनै सङ्घ–संस्थाले धरानमा कार्यक्रम गर्न लागेमा धरान रनका स्वयम्सेवकहरूसँग सहयोग माग्ने गरेको छ । यहाँ स्वतःस्फूर्तरूपमा स्वयम्सेवा गर्न सय जना युवा जोडिएका छन् । धरानमा हुने अधिकांश सामाजिक, खेलकुद, रक्तदान, सरसफाइ, चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा सक्रिय सहभागिता रहन्छ । धरान रनसँग नेपालको सबैभन्दा ठूलो स्टिल कम्पनी आरती स्ट्रीप्स प्रालीले हामीलाई साथ दिएको छ । शीर्षस्थानमा भने यती फ्लोरिङ, नेपाल टेलिकम, प्रभु बैङ्कलगायतले हामीलाई सहयोग र साथ दिनुभएको छ भने यस कार्यक्रमको आयोजक नेवा च्यारिटी धरान तथा व्यवस्थापन इन्टरटेन्मेन्ट प्रालि काठमाडौंले गरेको छ ।