धरान / अपाङ, अनाथ असहाय सेवाका निम्ति धरानका व्यवसायी विश्वबन्धु ताम्रकार र सुलोचना ताम्राकारले ‘रुद्र–राम स्मृति प्रतिष्ठान’ गठन गरेका छन् ।

प्रतिष्ठानले शुरुवाती चरणमा १५ लाख रुपैयाँ बराबरको रुद्र–राम स्मृति अक्षयकोष खडा गरेको छ । उक्त अक्षयकोषबाट आएको व्याजले निम्न वर्गका महिला, बालबालिका तथा बृद्धबृद्धालाई सहयोग गर्ने लक्ष्य लिएको छ । व्यवसायी ताम्रकारद्वय पतिपत्नि हुन् भने रुद्र र राम नाताले ताम्राकारद्वयका बुबा र ससुरा हुन् । प्रतिष्ठानको संरक्षकमा विश्वबन्धु छन् भने अध्यक्षमा पत्नी सुलोचना रहेकी छन् ।

रुद्रले तात्कालीन समयमा भाषा, संस्कृतिको क्षेत्रमा कलम चलाएको संरक्षक विश्वबन्धु ताम्राकारले जनाए । रुद्रको योगदानको कदर गर्दै उनको जीवनीमा आधारित ‘रुद्र दाइया’ नामक पुस्कत सार्वजनिक गरिन लागिएको छ । नेपाल भाषाविद तथा संस्कृतिविद् काशीनाथ तमोटले पुस्तकको आकार दिएका छन् ।

पुस्तक ताम्राकार दम्पतीको २५ औं वर्षगाँठको अवसरमा सार्वजनिक गरिने भएको छ । उनीहरूको २५ औं वर्षगाँठ फागुन २ गते पर्छ । वर्षगाँठको अवसरमा धरानका ज्येष्ठ नागरिक दुई जनालाई सम्मानित गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान घोषणापूर्व नै इटहरीको पकलीस्थित रामजानकी वृद्धा आश्रममा आश्रित बृद्धबृद्धाका लागि खाद्यान्न तथा किचन सामग्री सहयोग गरिसकेका छन् । प्रतिष्ठानले वार्षिकरूपमा सहयोग गर्ने भएको छ ।