बिर्तामोड / झापाको कन्काई बिकास बैंकले ग्राहकले जम्मा गरेको रकम फिर्ता दिन अस्विकार गरेको छ । ग्राहकले बैंकमा जम्मा गरेको रकम फिर्ता दिन बैंकले ‘होल्ड’ मा छ भन्दै नमानेको हो ।
बैंकले मेचीनगरका श्रीमाया काफ्लेले गरेको बचत फिर्ता गर्न नमानेको पीडितको गुनासो छ । चेक काटेर रकम लिन जाँदा बैंकले होल्डमा राखेको हुनाले फिर्ता दिन नमिल्ने बताएपछि पीडित काफ्लेले सञ्चारमाध्यम गुहारेका छन् ।
बैंकले बचतकर्ताको रकम किन फिर्ता नगरेको हो भन्ने यकिन जवाफ दिन सकेको छैन । बैंकका कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले कसैले निवेदन हालेर रोक्का गरेको कारण फिर्ता गर्न नसकिएको हुन सक्ने अनुमान गरेका छन् । ‘राष्ट्रबैंकले त्यो बेला धेरै बचतकर्ताको रकम रोक्का गरेको रहेछ, बज्राचार्यले भने–‘त्यस्तै केही भयो भने पनि रकम रोक्का हुन्छ, हामी बिस्तृत अध्ययन गरेर मात्र वास्तबिकता भन्न सक्छौ, चार पाँच बर्षसम्म ग्राहकले बैंकमा आफ्नो पैसा भए नभएको खोजी नगर्नु पनि रहस्यमय छ ।’ उनले बैंकमा ग्राहकको पैसा भए नभएको अध्ययन भइरहेको जानकारी दिए ।
बैकले काफ्लेलाई उपलब्ध गराएको बिवरणमा ५८ हजार ८ सय ९५ रुपैंयाँ १३ पैसा डिपोजिट रहेको उल्लेख छ । अन्तिम बिवरणमा त्यति रकम देखेपछि चेक काटेर भुक्तानीको लागि बैंक जाँदा पैसा नदिई फर्काइएको उनले बताए । ‘बैंकका मेनेजरले ८ हजार ८ सय ९५ रुपैयाँ मात्र भएको भन्दै चेक फर्कादिए, बाँकी ५० हजार होल्डमा राखिएको भनेका छन, होल्ड भनेको के हो ? त्यो पनि मलाई थाहा छैन ।’
बैंकले रकम होल्डमा राखेको भनेपछि ब्याज भने खातामा जम्मा गर्दै आएको पाइएको छ । नियमानुसारको कर कट्टी गरेर ब्याज जम्मा गरिरहेको बैंकले प्रदान गरेको स्टेटमेन्टमा जनाइएको छ । ‘रकम के कारणले होल्डमा गएको हो, तपाँइको गल्तीको कारण रहेछ भने तपाँईलाई कारवाही गरिन्छ भनेर बैंक मेनेजरले चेतावनी दिएको काफ्लेले बताइन् । आफ्नै रकम झिक्न जाँदा धम्कीको सामना गर्नुपरेपछि उनी सञ्चारमाध्यमको शरणमा आएको बताइन् ।
बैकको काँकडभिट्टा शाखाका मेनेजर राजु मल्लले आफु नयाँ भएको हुनाले घटनाकोे बारेमा केही थाहा नभएको बताए । ‘होल्डमा रहेछ, के भएको हो भनेर अध्ययन गर्दैछु, त्यो बेलाको कागजपत्र फेला नपारी यसै भन्न सकिन्न, मल्लले भने । बैकले रकम होल्ड भएको कारण पत्ता लगाएर समस्या समाधान गर्ने मल्लले बताए ।