सुनसरी /  सुनसरीको इटहरी क्षेत्रमा रहेको अधिकाशं पानी उद्योगहरू पनि मापदण्ड बेगार संचालनमा आएको पाइएको छ । संचालनमा आएको अधिकाशं पानी उद्योगले खाद्य ऐन पुरा नगरि मापदण्ड बेगार खुल्लेआम संचालनमा आएको पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले बिहीबार इटहरीको पाँच वटा पानी उद्योगमा अनुगमन गर्दा अधिकाशंले मापदण्ड पुरा नगरि संचालनमा आएको पाइयो । पाँच वटा उद्योगमा गरेको अनुगमनको क्रममा ३ वटा पानी उद्योगमा उत्पादनमा रोक लगाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख विक्रम लिम्बुले जानकारी दिए । वर्षौदेखी इजाजत पत्र (अनुज्ञापत्र ) लिए पनि नविरकण नगरिएको इटहरी–५ स्थित पारिजात जल उद्योग, मोहनकाजी शाक्यले इटहरी – ५ मा संचालन गरेको एभरेष्ट वाटर इण्डट्रिष्ज, सीता चौहानले इटहरी ५ मा संचालन गरेको कोशी जल उद्योगले उत्पादन गरेको प्रशोधित पानीको उत्पादनमा रोक लगाएको कार्यालय प्रमुख लिम्बुले बताए ।
‘अनुगमनको क्रममा यी उद्योगले खाद्य ऐनले तोके अनुसारको मापदण्ड पुरा गरेको देखिएन,’ कार्यालय प्रमुख लिम्बुले भने, ‘मापदण्ड र अनुज्ञापत्र नविकरण नगरेको पाइएपछि प्रशोधित पानीको उत्पादन रोक लगाएको छ ।’ मापदण्ड पुरा र अनुज्ञापत्र दर्ता नगरेसम्म उत्पादन पानी विक्री वितरण गर्न यी उद्योगले पाउने छैनन् । ‘पहिले मापदण्डा पुरा गराएको लिखित जानकारी हाम्रो कार्यालयमा आउनुपर्दछ,’ लिम्बुले भने, ‘मापदण्ड पुरा र अनुज्ञापत्र नविकरण पुरा गरेपछि उत्पादन खुल्ला हुनेछ ।’ अनुगमनको टोलीले इटहरी ७ मा रहेको एभरेष्ट फुड एण्ड वेभरेज इष्ट्रिस्ट्रिज प्रालि र हिमधारा जल उद्योग अनुगमन गरेको थियो । अनुगमन गरिएको ५ वटै उद्योगले उत्पादन गरेको पानीको नमुना परिक्षण गर्न समेत लगिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहित, इटहरी उपमहानगरपालिका, जिल्ला प्रशासन, इप्रका इटहरी उपभोक्ता मन्च, पानी उत्पादन महासंघ १ नम्बर प्रदेशसहितका प्रतिनिधीले इटहरीको पाँच वटा पानी उद्योगमा अनुगमन गरेको थियो ।
यस अघि विराटनगरको दुई दर्जन पानी उद्योगमा अनुगमन पछि ल्याबस परिक्षण गर्दा १० वटा पानी उद्योगमा मानव स्वास्थ्यलाई गम्भिर असर पर्ने ‘कोलीर्फम’ भेटिएको थियो । ल्याब परीक्षणका क्रममा विराटनगर र झापाको गरि १४ वटा पानी उद्योगमा दिसामा पाइने जीवाणु ‘कोलीफर्म’ फेला परेको थियो । कोलिफर्म भेटिएको ६ महिना बितिसक्दा पनि उद्योगविरुद्ध मुद्दा दर्ता भने गरेको छैन ।