विराटनगर / १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार विराटनगरमा भव्य योग शिविर सुरु भएको छ । पहिलो दिन प्रदेशका मन्त्रीदेखी कलाकारसम्म योगामा सारिक भए । ‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने आयोजकको दाबी छ । रोग लाग्नु भन्दा रोग लाग्न नदिनु योग शिविरको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । पहिलो दिन आइतबार बिहान साढे ५ बजे नै योग शिविरमा सयौं सर्वसाधरणले सहभागीता जनाएका छन् ।
विराटनगरस्थित विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा झिसमिसेमै मानिस भरिभराउ भए । सामाजिक विकास मन्त्रालयले रोग लाग्नै नदिन सचेतनास्वरुप आयोजना गरेको ५ शिविरमा विराटनगरका चोकचोकबाट मानिसहरु योग शिविर हुने मैदानमा पुगेका थिए । ख्यातीप्राप्त योग प्रशिक्षक लोकनाथ ढकालद्वारा प्रशिक्षण दिइएको उक्त शिविरमा १ नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्द बहादुर तुम्बाहाङ, सामाजिक विकास मन्त्री जीवन घिमिरे, हास्य कलाकार सिताराम कट्टेल धुर्मुस, सुरक्षा तथा कर्मचारी प्रशासनका व्यक्ति, सांसद तथा नेताहरुको पनि सहभागिता थियो । मानिसको आनीबानी र व्यवहार उल्टो दिशातर्फ गइरहेको बताउँदै सामाजिक विकास मन्त्री जीवन घिमिरले रोग लाग्नै नदिने उपायाको खोजी गर्ने सन्दर्भमा शिविर आयोजना गरेको बताए ।
शिविरमा खानपिन, सरसफाइ, आनीबानीको विषयमा सहभागीलाई प्रशिक्षण दिइने योग प्रशिक्षक लोकनाथ ढकालले बताए । उनका अनुसार विद्यार्थीका लागि उचाई बढाउने, मेमोरी पावर बढाउने लगायतका टिप्स शिविरमा दिइने छ ।
शिविरमा सहभागी हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुसले मानिसको दिमागमा भएको फोहोर हटाउनु अहिलेको मुख्य चुनौति रहेको बताए । उनले सामाजिक विकास मन्त्रालयले गरेको योग शिविरले दिमागमा भएको फोहोर हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
शिविर प्रत्येक दिन बिहान साढे ५ बजेदेखि ७ बजेसम्म आम नागरिकका लागि र दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म विद्यार्थीहरुका लागि संचालन हुनेछ । शिविरमा आउनेहरुका लागि आवश्यक यातायातको साधनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । आम मानिसले योगको महत्व बुझ्ने र व्यवहारमा लागू गर्ने प्रण गरेमात्रै पनि सामाजिक विकास मन्त्रालयले गरेको योग दिवसको सार्थकता झल्किने सहभागीको भनाइ छ ।