झापा/ ग्रामीण क्षेत्रमा बैङ्किङ सेवाबाट बञ्चितलाई वित्तीय सेवा प्रदान गर्दै महिलामा भएका सीप र जाँगर उजागर गर्ने उद्देश्यले स्थापना भएको समिट लघुवित्त वित्तीय संस्था बिर्तामोड–४ ले पूर्वका १० वटा जिल्लामा सञ्चालन गर्दै आएको कारोबार थप पाँचवटा जिल्लामा विस्तार गर्ने भएको छ ।
संस्थाले ०७५ असार २६ गते नेपाल राष्ट्र बैङ्कबाट तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ र ओखलढुङ्गामा पनि वित्तीय कारोबार गर्नसक्ने स्वीकृति प्राप्त गरेपछि ती जिल्लामा पनि कारोबार शुरु गर्न लागेको हो ।
झापा बिर्तामोडमा प्रधान कार्यालय रहेको संस्थाले मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, सुनसरी, सप्तरी, सिराहा र उदयपुरमा गरी ४१ वटा शाखा कार्यालयमार्फत् कारोबार गर्दै आएको छ ।
संस्थाले बिर्तामोडमा शुक्रबार आयोजना गरेको १० औं वार्षिक कार्यक्रममा स्वीकृति लिएका ५ वटा जिल्लामा पनि शाखा विस्तार गर्दै जाने लक्ष्य लिएको जनाएको हो ।
१० वटा जिल्लामा कारोबार गर्दै आएको संस्थामा ४० हजार ४ सय ६६ जना गरिब तथा विपन्न वर्गका महिलाहरू समूहमा आबद्ध गराई वित्तीय सेवा पुर्याउन सफल भएको संस्थाका अध्यक्ष तीर्थराज ढकालद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।
अधिकृत पुँजी ४० करोड, जारी पुँजी १७ करोड र चुक्ता पुँजी १७ करोड रहेको संस्थाले आर्थिक वर्ष ०७४/७५ मा ३ करोड ९५ लाख ५७ हजार ४ सय ३७ रुपैयाँ १९ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा छ ।
सोही कार्यक्रममा संस्थाले उत्कृष्ट शाखा, ऋणि, बचतकर्ता र एसईईमा समुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउन सफल २ जनालाई पुरस्कृत गरेको छ ।
उत्कृष्ट प्रथम केन्द्र पुरस्कारबाट वसन्त ऋतु स्वावलम्वन महिला केन्द्र (केन्द्र नं. १५१) बिर्तामोड शाखा, उत्कृष्ट दोस्रो केन्द्र पुरस्कार सलकपुर स्वावलम्वन महिला केन्द्र (केन्द्र नं. ०७) कोलबुङ शाखा इलाम र उत्कृष्ट तेस्रो केन्द्र पुरस्कारबाट पवित्रा स्वावलम्वन केन्द्र (केन्द्र नं. ०७९) दानाबारी शाखा इलामलाई प्रदान गरेको छ ।
उनीहरूलाई क्रमश १२ हजार, १० हजार र ८ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट ऋणि भद्रपुर शाखा, उत्कृष्ट बचत गोलधाप शाखालाई जनही ६ हजार ५ सयसहित प्रमाणपत्र प्रदान गरिएको छ भने एसईईमा छात्रातर्फ फिदिम शाखाअन्तर्गतकी निशा लावती र छात्रतर्फ विराटचोक शाखाअन्तर्गतका राहुल साहलाई जनही ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै सोही कार्यक्रमका बीच संस्थाका पूर्व सञ्चालक गणेशमान मुखिया र मिनाकुमारी कटुवाललाई सम्मान गरिएको थियो ।