दमक/ किसानले उत्पादन गरेको उखु विक्रीका लागि भनेर न्युनतम मुल्य निर्धारण गरिएपनि विगत २ वर्षदेखि झापामा उखु बिक्री हुन छाडेको छ । जसले गर्दा किसानहरु मर्कामा छन् ।
झापाको अर्जुनधारा नगरपालिकामा विगत २२ वर्षदेखि उखु खेति गर्दै आएका किसानहरुलाई २ वर्ष यता उखु बिक्री हुन छोडेपछि किसान संकटमा परेका छन् ।
अर्जुनधारा ५ का रत्न बहादुर वन भन्छन् ‘२०५६ साल देखि उखु खेती गर्दै आए,२०७३ साल भन्दा अगाडि कम मुल्यमा भए पनि उखु बिक्री हुन्थ्यो, तर २ बर्ष यता उखु दाउरामा परिणत भएको छ ।’ आफुहरुको गरिखाने मेलो नै हराएको भन्दै उनले चिन्ता प्रकट गरेका छन्।
उता, अर्जुनधारा ५ कै मिना भारतीले पनि उखु कम मुल्यमै भए पनि बेच्न पाए केही राहत हुने थियो भन्दै उखु बिक्री नै नभएकोमा चिन्ता प्रकट गरेकि छिन्।
यहाँका कृषकले उखु बिक्रिनै नभएर समस्या खेपिरहेका बेला अर्जुनधारा ५ का सुवास राजवंशीले भने भारतबाट कालिगढ मगाएर उखुबाट सख्खर बनाउने उद्योग स्थापना गरेका छन् ।
अर्काको जमिन भाडामा लिएर उखु खेती गरिरहेका राजवंशी भन्छन् ‘सुरुमा अर्काको मेसिन प्रयोग गरेर सख्खर बनाए, त्यसबाट धेरै खर्च भएर खर्चले धान्न नसके पछि ऋण गरेरै भए पनि मेसिन खरिद गरेर उद्योग चलाउँदै छु ।’ प्रति घण्टा १ लिटर डिजल प्रयोग हुने मेसिनबाट दिन भरिमा २ सय ६५ लिटर उखुको रस निकाल्न सकिने राजवंशी बताउँछन् ।
बारीमा मेसिन राख्दा जग्गाधनीले गाली गरेको र अरुको लागि आफु हाँसोको पात्र बनेको पनि उनले बताए । यद्यपी, दैनिक एक सय केजी मिसावट नभएको सख्खर बनाउदै खुदो पनि बेच्ने गरेका राजवंशीले दैनिक ज्यालादारीमा ५ जनालाई रोजगारी समेत दिएका छन् ।
उनी भन्छन्,'यो उद्योग स्थापना गरेर थाम्न सकेँ भने झापामा उखु बिक्री नहुने समस्या समाधान हुन्छ । तर, मिसावट भएको भारतीय सख्खर बजारमा छ्याप्छ्याप्ती पाउने भएको कारण उनको उद्योगबाट उत्पादन हुने सख्खर मारमा पर्ने गरेको पीडा पोखे । हामी मारमा परेका छौ, प्रतिकेजी एक सयका दरले सख्खर बेच्न पनि हामीलाइ समस्या परेको छ, उनले भने
सुवासकी पत्नी उर्मिलाका अनुसार उखुबारीमै सुकाएर १० लाख ऋणमा फसेको थियो । त्यसैले यो वर्षबाट थप ऋण गरेरै भए पनि सख्खर बनाउने मेसिन जोडेको उनले बताइन् ।
उनीहरुले सञ्चालन गरेको सख्खर उद्योगबाट दैनिक १ सय केजी सख्खर, खुदो र मुरै डल्ला उत्पादन हुदै आएको छ । जस्ले उखु किसान राजवंशीको घाउमा सख्खरको मल्हम होलाकी भन्ने आशा पलाएको छ ।
किसानको उखु नबिक्ने समस्याप्रति २ वर्ष बितिसक्दा पनि राज्य भने उदासिन छ । अर्जुनधारा ५ का वडा अध्यक्ष ध्यानबहादुर भारती उखु खरीद गर्ने व्यापारी आँफैले ठुलो क्षेत्रफलमा उखु खेती गरेपछि सानो ३,४ विगाहामा खेती गर्ने कृषकहरु मारमा परेको बताउँछन् ।
आफु पनि उखु किसान भएपनि आफुले यस बारे केही गर्न नसकेको स्विकादै उनले भने ‘कृषकहरुले व्यवसाय परिवर्तन गर्नु पर्याे, अब उखु छाडेर पाटा खेतीतर्फ किसानहरु परिवर्तन हुन जरुरी छ ।’ अध्यक्ष भारतीले राजवंशीले सञ्चालन गरेको सख्खर उद्योगलाई राज्यले नभए नगरले भएपनि पनि बृहत बनाउदै मिसावट रहित सख्खर उद्योगको स्थापना गर्न सहयोग गर्नुपर्ने बताए ।