भद्रपुर/ विषादी रहित तरकारी उत्पादन गरेर आत्मनिर्भर बनाउने उद्देश्यले ५५ जना महिलालाई एक दिने तालिम प्रदान गरिएको छ ।  भद्रपुर नगर कार्यपालिका कृषि शाखाको आयोजना तथा वडा महिला सञ्जाल भद्रपुर–७ को सहआयोजनामा आइतबार तालिम प्रदान गरिएको हो ।

महिला सञ्जालकी अध्यक्ष सीता गुरागाइँको सभापतित्व तथा नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा बेमौसमी तरकारी खेती प्रविधि तालिम आयोजना गरिएको थियो । तालिममा शेषराज पौडेल, धर्म कटुवाल र अमृता लिम्बूले प्रशिक्षण प्रदान गरेका थिए ।

उपाध्यक्ष दुर्गा निरौलाले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा नम्बर–७ का अध्यक्ष विनोदप्रसाद पोखरेल र प्रमुख अतिथि श्रेष्ठले तालिमलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव गोमा उप्रेतीले गरेकी थिइन् ।