उदयपुर/ उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सिमेन्ट उत्पादनमा इतिहासकै नयाँ रेकर्ड कायम गरेको छ ।  विगतमा बन्द हुने अवस्थामा पुगेको सरकारी स्वमित्व रहेको देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग लिमिटेडले पछिल्लो समयमा व्यवस्थापन तथा प्रशासन प्रभावकारिताले उत्पादनले नयाँ रेकर्ड कायम गरेको हो ।

८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले अहिले क्षमताभन्दा बढी उत्पादन गरेर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सम्पूर्ण पार्टपूर्जा तथा मेसिनहरू मर्मत तथा सुधार गरी सञ्चालित उद्योगले पछिल्लो समय दैनिक ८ सय मेट्रिकटन भन्दा बढी सिमेन्ट उत्पादन गर्दै आएकामा गत शनिबार इतिहासकै नयाँ रेकर्ड कायम गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए ।

यस अघि ८ सय ३५ मेट्रिकटनसम्म मात्रै सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन सिमेन्ट उत्पादन गरी इतिहासकै नयाँ रेकर्ड कायम गरेको हो । उक्त परिमाणमा १ सय ३० मेट्रिकटन बढी उत्पादन गरी नयाँ रेकर्ड राख्न सफल भएको कामु नायव महाप्रबन्धक ध्रुबबहादुर देवकोटाले बताए ।

विगतमा दुई–तीनसय मेट्रिकटन मात्र उत्पादन दिने उद्योगको सुधारसँगै बढेको उत्पादनले मजदुर, कर्मचारी र स्थानीय उत्साहित भएका छन् । ‘उद्योगले अहिले गरिरहेको प्रगति र राम्रो उत्पादनले सबैलाई खुसी मिलेको देवकोटाले बताए ।

विद्युत अवरोधको चुनौती खेप्दै आएको उद्योगले विद्युत आपूर्ती सहज पाएको खण्डमा देशकै अर्थतन्त्रलाई टेवा पुग्ने गरी उत्पादन हुने जानकारी दिएको छ । बीचमा विद्युत अवरुद्ध हुँदा उत्पादन प्रभावित हुनुका साथै थप आर्थिक नोक्सानीसमेत व्यहोर्नुपर्ने हुन्छ ।

जापान सरकारले ०४६ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेपछि विस्तारै खस्केको उद्योगले पछिल्लो समय राम्रो नेतृत्व पाएकाले सुधार आएको देवकोटाले बताए ।

आर्थिक सङ्कटमा परी मजदुर, कर्मचारीलाई तलब भत्तासम्म खुवाउन नसक्ने अवस्थाबाट उठेको उद्योगले यस्ता सुधार अवस्थालाई कायमै राख्ने हो भने देशको अर्थतन्त्रमा अरबौं टेवा पुग्ने उद्योगका कर्मचारी बताउँछन् ।