सिरहा/ सिरहा जिल्लामा उखुको समयमा भुक्तानी नदिएपछि सिरहामा उखु किसान अफै पेल्दै गरेको छ । चिनी मिलले समयमा भुक्तानी नदिएपछि मिर्चैयाका उखु किसान आफै मिा (सखर) बनाउन थालेका छन् ।
चिनी मिलहरुले उखु लिएका भुक्तानीमा धेरै समय लगाउने र उखुको मूल्य पनि समयमा निर्धारण नभएपछि मिर्चैया नगरपालिका वडा नम्बर ४ जितमहान टोलका किसानहरु आफै उखु पेल्दै सखर बनाउन थालेका हुन् ।
मिर्चैया नगरपालिका वडा नम्बर ४ जितमहान टोलका किसान ५५ वर्षिय मिश्री यादवले पछिल्लो तीन चार वर्षदेखि आफ्नो खेतमा लगाएको र अन्य किसानसँग उखु किनेर सखर बनाईरहेको बताए ।
उनले भने, पहिला हामीले उत्पादन गरेको उखुपनि मिललाई दिने गरेका थियौँ, तर पछि भुक्तानीमा समस्या, लामो समयसम्म उखुको मूल्य निर्धारण नहुँदा आफैले सखर बनाउन थालेको छु ।
मिश्री मात्र हैन उनका दाजुका छोरा विजय यादव, गुरुशरण यादव, किशोरी यादव र राजलाल साहले पनि अहिले यही व्यवसाय गरिरहेका छन् ।
उनीहरुले आफ्नो खेत बारीमा भएको उखु पेलेर त्यसको सखर बनाउँने गर्दछन् । छर छिमेकको पनि उनीहरुले उखु किन्ने गरेको छ ।
विजयले आफ्नो एक विगहा १० का जमिनमा उखु लगाएका छन् । अहिले उनी त्यहीे उखु पेल्ने र त्यसबाट सखर बनाई रहेका छन् । आफ्नो सकिएपछि छिमेकीहरुसँग उखु किनेर सखर बनाउने बताउँछन् । उनीहरुले पुसदेखि फागुनसम्म तीन महिनामा एकजनाले करिब एक सय ३५ क्विन्टल सखर बनाउने बताए ।
धनगढीमाई नगरपालिका वडा नम्बर ७ कसहाका विन्दिलाल महतोले पनि आफ्नो खेतको उखु आफैले पेलेर सखर बनाईरहेका छन् । चिनी मिलले समयमा पैसा नदिने र उखुको मूल्य पनि समयमा निर्धारण नभएकाले आफैले उखुपेलेर सखर बनाएको उनले बताए ।
विजयले भने, ‘अहिले हामी दैनिक एक क्विन्टल ५० केजी सखर बनाई रहेका छौं, एक सिजनमा करिब एक सय ३५ क्विन्टलभन्दा बढी उत्पादन गर्छौं ।
उत्पान भएको सखर घरबाटै व्यवसायीहरुले लग्ने गरेको उनले बताए । ‘हामीले बनाउँदै राख्ने हो, व्यवसायीहरुले घरबाटै लग्ने लगिहान्छन् । आफूहरुले किसानसँग लिएको उखुको मूल्य सखर विक्ने बित्तिकै दिने गरेका छौं,’यादवले भने ।
सिरहाको नरहा गाउँपालीका ३ मा रहेको हिमालय सुगरमिल अझै सञ्चालन भएको छैन । उखु सुक्न थालेपछिपनि मिल नचलेपछि किसान आफै सखर बनाउनेतर्फ लागेका हुन् ।
उद्योगलाई उखु बेचेका मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहटका गरी पाँच हजार ६ सय दुई जना किसानले १० लाख २१ हजार ६७ क्वीण्टल उखु बेचेका थिए । उक्त परिमाणको उखुको ६ करोड दुई लाख ५४ हजार रुपैयाँ सरकारी अनुदान वापत्को रकम नपाएको किसानहरुले पाएका छैनन् ।
सबै किसानको अनुदान रकम लेखा तथा कोष नियन्त्रण कार्यालय सिरहाको कार्यालयमा आएपनि कागजातहरु नपुगेको भन्दै उनीहरुलाई रकम दिइएको छैन ।