धरान / सुविधा सम्पन्न उपमहानगरपालिकाभित्रै सर्वसाधारण विरामी पर्दा भौगोलिक अवस्थाका कारण एम्बुलेन्स जान मान्दैनन् भन्दा सायदै कसैलाई पत्यार लाग्न नसक्ला । तर यो यथार्थ हो, धरान उपमहानगरपालिका वडा नं. ५ देवीगाँउमा सेउती खोलामा पक्की पुल नहुदा त्यहाँका स्थानीयहरु विरामी पर्दा धरानमा विभिन्न संघ संस्थाले बग्रेती एम्बुलेन्स सञ्चालनमा ल्याए पनि त्यो ठाउमा एम्बुलेन्स पु¥याउन आनाकानी गर्छन् ।

विरामी पर्दा एम्बुलेन्स नपुगेर समयमै उपचार गराउन नपाएका त्यहाँ स्थानीयहरु अब भने एम्बुलृन्स आफै खरिद गर्ने तयारीमा छन् । विश्वकर्मा युवा मञ्चले देवीगाउँका सर्वसाधारणलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गर्ने तयारीमा जुटेको हो ।

साविकको पाँचकन्या गाविस धरान उपमहानगपालिकामा गाभिएपछि शिक्षा, स्वास्थ्य र रोजगारमा पहुच पुग्ला भन्ने विश्वास लिएका त्यहाँका सर्वसाधारणले धरान उपमहानगरपालिकामा गाभिएर निर्वाचनबाट स्थानीय जनप्रतिनिधि चुनिएर आए पनि समस्या ज्यूका त्यू भए पनि उपमहानगरले त्यस ठाउँका लागि शिक्षा र स्वास्थ्यका लागि प्राथमिकतामा नराखेपछि विरामी पर्दा त्यहाँका सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गर्न लागेका हुन् ।

विरामी पर्दा नजिकै स्वास्थ्य केन्द्र नहुनु र विरामी पर्दा हत्तपत्त एम्बुलेन्स नपुग्नु र साह्रो गाह्रो पर्दा उपचारका लागि करिब ७ किमीको दूरीबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउनुपर्ने बाध्यता छ । समयमै एम्बुलेन्स नपुग्नु र गाउमा स्वास्थ्य सेवा नहुदा विरामीको अकालमा ज्यान जार्ने प्रवल सम्भवना बढ्दै गएपछि आफूहरुले विभिन्न दाता, विभिन्न कार्यक्रमको आयोजना गरी एम्बुलेन्स खरिद गर्न लागेको विश्वकर्मा युवा मञ्च देवी गाउका अध्यक्ष गोविन्द विश्वकर्माले बताए ।

देवीगाउँमा करिब ६ सय घर परिवार भएको उनीहरुले बताए । एम्बुलेन्स यहाँ रहेका सर्वसाधारणलाई लक्षित गरी खरिद गर्न लागिएको अध्यक्ष विकको भनाई छ । उनले भने –‘गाउमा कोही विरामी भयो भने एम्बुलेन्स आउन मान्दैनन, बाटो खराब छ भन्छन्, जोखिम मोलेर आफैले मोटरसाइकल वा टेम्पोमा हालेर लानु पर्ने अवस्था हुन्छ । यो समस्या नआओस् भनेर एम्बुलेन्स खरिद गर्न लागेका हौं ।’

त्यहाँ एम्बुलेन्स नपुग्नुको कारण सेउती पुलमा पक्की पुल नभएर नै हो । बर्षौदेखि काठको पुलमा जोखिम मोलेर ओहोर दोहोर गर्नुपर्ने बाध्यता भएका उनीहरुलाई बर्षादको समयमा झन त्रासमा बाच्ने गर्छन् । त्यही भएको काठको पुल पनि बाढीले बगाइदियो भने धरान उपमहानगरपालिकामा पर्ने देवीगाउँ धरानसंग सम्बन्ध विच्छेद हुन्छ ।

देवीगाउँमा करिब ३२ घर धुरी रहेको उनीहरुले बताए । एम्ब्लेन्स खरिदका लागि प्रत्येक घरधुरीबाट ३ हजार ५ सय रुपैयाका दरले रकम संकलन गर्ने र अपुग रकम अन्य सहयोगी दाताहरुबाट संकलन गर्नै अध्यक्ष विकले बताए । यस गाउँमा ९० प्रतिशत दलितको बसोबास रहेको अध्यक्ष विकले जानकारी दिए ।