इलाम/ इलाम नगरपालिकाको आयोजनामा पुस २० गते हुने लगानी सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिक अभिनन्दनसमेत गरिने नगरपालिकाले जनाएको छ ।

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले लगानी सम्मेलन गर्न लागेका नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । लगानी सम्मेलनमा भाग लिन प”र्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री, प्रदेश तथा सङ्घीय सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा उद्योगी-व्यवसायीको सहभागिता रहने जनाइएको छ ।

नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई लगानीका म'ख्य क्षेत्रका रूपमा सम्मेलनमा लाने तयारी गर्दैछ । कृषितर्फ चिया, अदुवा, अलैँची, दुध, जडीबुटीलगायत क्षेत्रमा दाताहरूलाई सम्भावना देखाउनेछ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई प्रशोधन र बजारीकरणका माध्यमबाट यस क्षेत्रमा उद्योगधन्दा स्थापनाका लागि लगानीकर्ताको ध्यानाकर्षण हुने अपेक्षा रहेको प्रमुख बस्नेतको भनाइ छ ।