सिरहा / सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालिले एम्बुलेन्स चालकलाई रकम दिएर बिरामी ल्याउने गरेको खुलेको छ ।
उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि सेटिङ हुने गरेको तथ्य बाहिर आएको हो । उक्त प्रालिका एक चिकित्सको त्रुटिपूर्ण सल्यक्रियापछि सुत्केरीको मृत्यु भएको छ । मृत्युपछि बिरामीका आफन्तले क्षतिपूर्ति र चिकित्सकलाई कारबाही माग्दै प्रदर्शन गरेका छन् । मिर्चैया नगरपालिका–११ की सञ्जु पासवानको सल्यक्रियापछि मृत्यु भएको हो । उनको श्रीमान वैदेशिक रोजगारीमा छन् ।
सञ्जुलाई सुत्केरी व्यथाले च्यापेपछि बुधबार साँझ गोलबजारको स्वास्थ्य चौकीमा लगिएको थियो । चौकीले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा रिफर गरेको थियो । अस्पतालले पनि विराटनगर या धरान लानका लागि सुझाव दिने क्रममा सञ्जुलाई एक एम्बुलेन्स चालकले ओम गुरुकुलमा लगेर गएको आफन्तले बताए । भर्नालगत्तै सल्यक्रिया गर्नुपर्छ भनेपछि सल्यक्रिया गरी छोरी जन्मिएको थियो । तर, उनी गम्भीर बन्दै गएपछि अस्पतालले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रिफर गरेको थियो । नोबेल पु-याउन नपाउँदै सुत्केरीको मृत्यु भएको आफन्तले जनाए । मृतक सञ्जुको शवलाई ओम गुरुकुल परिषरमा राखेर आन्दोलन गरेका छन् । सञ्जुले जन्म दिएकी बच्ची सकुशल नै छन् । मृतक सञ्जुका बुबा देवचन्द्र पासवानका अनुसार बाहिर लाने तयारी गरिरहेको समयमा ओम गुरुकुलका एम्बुलेन्स चालकले ओम गुरुकुलमा लान सल्लाह दिए । हतारोका बेला आफूहरूले त्यही लगेको तर, सल्यक्रियापछि सुत्केरीको अवस्था थप नाजुक बन्दै गएको उनले बताए । उनका अनुसार बच्चा जन्मेको केहीबेरपछि सञ्जुलाई नियमित रगत चढाउनु पर्छ भन्दै भन्दै मलाई सरकारी अस्पतालमा रगतका लागि पठाएका थिए । आफन्तले चिकित्सकको लापरबाहीले नै सञ्जुको मृत्यु भएको आरोप लगाएका छन् । सञ्जु पासवानलाई व्यथाले च्यापेपछि लहानस्थित रामकुमार सारडा उमा प्रसाद मुरारका स्मारक अस्पताल लहा, सिरहामा दिउसो ४ बजे भर्ना गरियो । त्यहा अस्पतालमा संलग्न चेकअपमा रहेका डाक्टर मेडिकल अधिकृत सरोज यादबका अनुसार उच्च रक्तचाप भएको थियो । रक्तचाप नियन्त्रणका लागि औषधि दिए पनि सुधार नभएपछि धरानस्थित बीपी कोराइला स्वास्थ्य वज्ञिान प्रतिष्ठान धरानमा रेफर गरेको उपचारमा संलग्न डाक्टर यादबले बताए ।
ओम गुरुकुलका सञ्चालक फरार
मृतकका आफन्तले प्रदर्शन गर्न थालेपछि प्रालिका सञ्चालक फरार भएका छन् । सुरक्षार्थका लागि प्रालिले प्रहरी परिचालित गरेको छ । त्यहाँका सञ्चालकका साथै सम्पूर्ण कर्मचारी सम्पर्कविहीन भएको र हाल उक्त अस्पताल बन्द रहेको छ । अस्पतालको नवीकरणसमेत नभएको पाइएको छ । जिल्ला जन स्वास्थ्य कार्यालय सिरहाबाट आर्थिक वर्ष २०७२/०७३मा दर्ता नं. १४७२२२ प्रक्रिया पूरा गरी प्रालि सञ्चालनमा आएको थियो । त्यसयता भने नवीकरण हुन सकेको थिएन । अस्पतालले सिएससी गर्न ईजाजत नदिएको जनस्वास्थ्य प्रमुख डा. नागेन्द्र यादवले बताए । मृतकका आफन्तजनले क्षतिपूर्ति माग्दै अगाडी शब राखेर पर्दशन गरिहेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी राजेश थापाले हालसम्म सञ्चालक फरार रहेकोले खोजी कार्य भइएरहेको बताए ।