धरान/धरानमा डेङ्गु रोगीहरूको सङ्ख्या बढिरहेको छ । कात्तिक १४ गते धरान–१० का एक युवामा डेङ्गु रोग देखापरेलगत्तै धरानको विजयपुर हस्पिटलमा मात्रै ५ जना डेङ्गु रोगी फेला परेका छन् ।

पछिल्लो पटक अस्पतालमा धरान–१५ र धरान–१७ का ४५ वर्षीय महिला र पुरूषमा डेङ्गु फेला परेको छ । विजयपुर हस्पिटलमा मङ्गलबार भर्ना भएका उनीहरूमा अत्यधिक ज्वरो देखिएपछि ल्याव परीक्षण गर्दा डेङ्गु भेटिएको अस्पतालका प्रशासक इन्दु योञ्जनले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा ५ जना डेङ्गु रोगी पछिल्लो १० दिनमा फेला परिरहेको छ । विशेष गरी ग्रामीण भेगमा भन्दा डेङ्गुको सङ्क्रमण शहरी भेगमा हुने गरेको चिकित्सकहरू बताउँछन् । धरानको ४ वटा वडामा डेङ्गु देखिएको छ । अहिले धरान उपमहानगरपालिकाले डेङ्गु देखिएका वडाहरूमा औषधिसमेत छर्किसकेको जनाएको छ ।

डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट डेङ्गु फैलिने विजयपुर हस्पिटलका मेडिसिन विभागका चिकित्सिक डा. सन्दीप बज्राचार्यले बताए । रातको समयमा भन्दा बिहान र दिउसो टोक्ने लामखुट्टेबाट डेङ्गु बढी हुने सम्भावना रहेको उनको दाबी छ । ‘रातको मच्छडभन्दा दिनमा टोक्ने मच्छडबाट यो रोग सर्ने सम्भावना बढी हुन्छ ।’ उनले भने ।

उनका अनुसार डेङ्गु यो मात्रामा देखिनु खतराजनक छ । त्यस्ता क्षेत्रमा औषधि छर्किएर सफा, सुग्घरमा ध्यान दिनुपर्ने उनी बताउँछन् । धरान उपमहानगरपालिका सामाजिक विकास शाखाका अधिकृत गणेशप्रसाद खतिवडाले डेङ्गु प्रभावित वडाहरूमा औषधि छर्किसकेको बताए । उनले सूचनाका लागि माइकिङ र बिहान–बेलुका दुई पटक औषधि छर्किरहेको बताए ।

अहिले धरानको ११, १६, १७, १५ र १० प्रभावित वडाको रूपमा देखिएको छ । अन्य वडामा यो समस्या तत्काल नदेखिए पनि औषधि छर्किने कार्यलाई निरन्तरता दिइरहेको कार्यपालिका सदस्य सुवास राईले जानकारी दिए । धरान उपमहानगरले डेङ्गुको औषधि छर्किने कामका लागि चालु आर्थिक वर्षमा २ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो समस्याका बिरामी आए÷नआएकोबारे प्रतिष्ठान प्रशासन प्रष्ट छैन ।

https://www.youtube.com/watch?v=k-xR9bc0fm4&feature=youtu.be