पानवारी । बढ्दो शहरीकरणले व्यापार–व्यवसायको आयाम फेरिएसँगै धरानको फुटपाथ घुमुवा व्यापारीको कब्जामा परेको छ । धरानको मुख्य बजारका फुटपाथमा घुमुवा व्यापारीले कब्जा गर्दै व्यापार गर्दै आइरहेका छन् । सोमबार धरान बन्द भएका दिन घुमुवा व्यापारीहरूले फुटपाथ ढाकेर व्यापार गर्ने गरेका छन् । तर सम्बन्धित निकायको यसतर्फ ध्यान आकृष्ट हुन सकेको छैन । अन्य बेला स्थायी व्यापारीले फुटपाथमा त्रिपाल टाँगेर हैरान बनाउने गरेका छन् । फुटपाथ व्यापारीहरूले कब्जा गरेकाले यात्रुलाई हिँड्ने ठाउँ नै नभएको भन्दै सामाजिक सञ्जालमा धरानका पर्यटन व्यवसायी वासुदेव बरालले निरन्तर आलोचना गर्दै आइरहेका छन् । बराल भन्छन्, ‘कुनै एक निश्चित ठाउँमा लगेर फुटपाथको व्यापारलाई व्यवस्थित गर्नुपर्छ । धरानको शोभा बढाउन भन्दै बनाएको अपाङ्गमैत्री फुटपाथ र सडकको किनारमा राखिएका गमला र रेलिङ छोपेर फुटपाथमा व्यापार गर्दा स्थानीय सरकार किन मौन ?’

दिवङ्गत मेयर तारा सुब्बाले पर्यटकलाई आकर्षित गर्न भन्दै मुख्य सडकको किनारमा स्टिलको रेलिङ र गमलामा फूल रोपेका थिए । तर फुटपाथ व्यापारीले सोही रेलिङमा कपडा झुण्ड्याएर बिक्री गर्दै आइरहेका छन् । धरानको शोभा बढाउन बनाएको रेलिङलाई साना व्यापारीले व्यापार गर्ने थलो बनाउँदा पनि स्थानीय सरकार नबोलेको देख्दा एक स्थानीय आश्चर्यमा परेको बताउँछन् । धरानको छाताचोकदेखि भानुचोकसम्मको व्यस्त सडकको दुवैतर्फ पाँच वर्षअघि अपाङ्गमैत्री फुटपाथ निर्माण गरिएको थियो । अहिले अपाङ्गता भएकाहरूलाई मात्रै हैन, सर्वसाधारणलाई पनि हिँड्न सकस हुने गरेको छ । विशेषगरी सोमबारका दिन त त्यहाँ मेला नै लाग्ने गरेको छ । धरान बजार सोमबार बन्द हुन्छ । त्यही दिन साना व्यापारीहरू सल्बलाउने गरेका छन् । फुटपाथमा व्यापार गर्न जोगवनी, विराटनगर, इटहरीसम्मका व्यापारी आउने गरेका छन् । उनीहरुले भानुचोकदेखि छाताचोकसम्म फुटपाथमै पसल फिँजाउने गरेका छन् ।

फुटपाथमा व्यापारीले विशेषगरी लत्ताकपडा, जुत्ता–चप्पल फिँजाउँदै सस्तोमा व्यापार गर्ने गरेका छन् । सस्तो मूल्यमा सामान पाइने भएपछि फुटपाथमा किन्नेहरूको लाम लाग्छ । फुटपाथलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्न माग उठ्न थालेको छ । नेपाली काङ्ग्रेस धरान नगर सभापति तिलक राई फुटपाथमा लाग्ने बजारलाई भानुचौक नजिकै उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने तर्क राख्छन् । सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव शिवराज श्रेष्ठ पनि फुटपाथमा लाग्ने व्यापारलाई उचित स्थानमा सार्नुपर्ने बताउँछन् । फेन्सी व्यापार सङ्घ धरानका अध्यक्ष मेहरलाल श्रेष्ठ सोमबार देखिने गरेको बजारले धरान नै अशोभनीय देखिएको बताउँछन् । धरानमा सरकारको उपस्थिति कहीँ पनि नदेखिएको भन्दै एक स्थानीय भन्छन्, ‘फुटपाथ व्यापारीले कब्जा गरेका छन्, मुख्य सडकमा नै खाल्डाखुल्डी छ, बजारमा जहाँतहीँ बेथिति छ, अनुगमन छैन, साँच्चै धरानमा स्थानीय सरकार नै छैन कि भन्ने भान भइरहेको छ ।’ स्थानीय सरकारले उचित स्थानमा फुटपाथ व्यापारीलाई व्यवस्थापन गर्ने हो भने त्यसबाट निश्चित करसमेत लिन सक्छ । तर यसतर्फ सरकारको ध्यान जान नसकेको ठूला व्यापारी बताउँछन् । धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले भने धरानमा देखिएको फुटपाथ अतिक्रमण हटाइने बताइन् । उनले भनिन्, ‘अहिले सोमबार देखिएको फुटपाथको व्यापारलाई कहाँ लैजाने भनेर खोजी गरिरहेका छौं, सम्भवत भदौ महिनाभित्र त्यसलाई उपयुक्त स्थान खोजेर व्यवस्थापन गर्र्छाैं ।’