नेपाली चलचित्रका सुपरस्टार नायक अनमोल केसीले आफ्नो चरित्र हत्या नगरिदिनुहुन भन्दै अनुरोध गरेका छन् । केहि अनलाइन मिडियामा अनमोलको बिषयमा भ्रामक समाचार प्रकाशन भएपछि उनले फेसबुकमा स्टाटस नै लेख्दै यस्तो अनुरोध गरेका हुन् ।

केहि अनलाइनमा ‘अनमोलले गाउँले भनेका भिकारी हुन्’ भनेको भन्दै भ्रामक समाचार प्रकाशन भएपछि अनमोलले स्टाटस नै लेखेका हुन् । आफ्नो बारेमा आएका समाचार र चर्चामा खासै नबोल्ने अनमोलले आफ्ना फ्यान र दर्शकमा भ्रम नपरोस् भनेर स्पष्टिकरण दिएको बताएका छन् ।

अनमोलले भने-‘म आफै पनि अचम्मित छु । म संसारका हरेक मानिसले सुख पाउन् भनेर काम गर्छु । तर, बोल्दै नबोलेका कुरालाई लिएर खबर आउँदा दुख लाग्ने रहेछ ।’

अनमोलले समाचार विकाउने उद्देश्यले यस्ता भ्रामक समाचार लेखेर कसैको चरित्र हत्या नगर्न आग्रह गरेका छन् । उनले, आफूले सबैलाई सम्मान गर्ने समेत स्पष्ट पारेका छन् । अनमोल अहिले चलचित्र ‘क्याप्टेन’को तयारीमा छन् । फुटबल खेलाडीको कथामा बन्ने यो चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजना निर्माता भूवन केसीको छ ।

अनलाइनखबर