भारतको उत्तर प्रदेशमा जन्मिएका अमिताभ बच्चनको जीवनका केही कथाहरू धेरैलाई थाहा नभएको हुन सक्छ । यस्तै एउटा कथा यहाँ हामी बताउँछौं । अमिताभ आफ्ना पिता हरिवंश राय बच्चन, आमा तेजी र भाइ अजिताभसँग दशद्वारमा बस्थे । यो इलाहाबादको क्लाइभ रोडमा थियो । रोडनजिकै रानी बेतियाको एक कोठी थियो जसको ढोका सधैं बन्द हुन्थ्यो र एउटा पालेले सधैं पहरा दिन्थ्यो । अमिताभ यो कोठीमा जान चाहन्थे किनकि उनले साथीहरूसँग कोठी र रानीका बारेमा धेरै कुरा सुनेका थिए । एक दिन आफ्ना दुई साथीहरू शशि र नरेशका साथ उनी पालेकहाँ पुगे र कोठीभित्र जाने अनुमति मागे । पालेले २५ पैसा दिने भए कोठीमा जान दिन्छु भने । धेरै सोचविचार गरेपछि अमिताभ घर गए र उनले ड्रेसिङ टेबलको घर्रा खोलेर आमाले राखेको सुका चोरे । पालेले सुका त लियो तर कोठीभित्र नछिराइकन हप्काएर पठायो । अमिताभ घर पुगेपछि तेजीले उनको गाला चड्काइन् । उनले पैसा चोरेको थाहा पाएपछि गाला चड्काएकी थिइन् । पछि हरिवंशले अमिताभलाई यसबारेमा सोध्दा उनले सबै कुरा बताए । पिताले उनलाई चोरी गर्नु राम्रो हुन्न भनी सम्झाएपछि अमिताभले यो कहिल्यै भुलेनन् ।